पर्वत : गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको २६औँ साधारण सभा तथा ११औँ जिल्ला नागरिक सम्मेलन मंगलबार पर्वतमा सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क, गैसस महासंघ केन्द्रका नि अध्यक्ष राम प्रसाद सुवेदी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवि शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, गैसस महासंघका केन्द्रिीय सचिब राजेन्द्र पौडेल, एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेल लगायत विभिन्न राष्ट्रसेवक कार्यालयका प्रमुख, तथा नागरीक समाजका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार, सुरक्षा निकाय, तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था तथा नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय नीति, योजना र कानुन निर्माणलगायतका विषयमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नागरिक समाज सञ्जाल पर्वतका २०८३ सालका संयोजकमा यज्ञ प्रसाद शर्मालाई पदस्थापना गरिएको छ । साथै आगामी २०८४ को संयोजकमा पर्वत अदालत बार ईकाईबाट पुण्य प्रसाद सुबेदीलाई घोषणा गरिएको कार्यक्रममा नागरिक घोषणापत्रसमेत प्रस्तुत गरिएको छ ।
कार्यक्रम गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सचिब बलिनारायण रेग्मीले सञ्चालन गरेका थिए ।
नागरिक समाज समाजको विकास, सुशासन, पारदर्शिता, सामाजिक न्याय, मानव अधिकार तथा जनहितका विषयमा निरन्तर आवाज उठाउने साझा मञ्च हो । समाजमा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्ने काम यसले गर्दै आइरहेको छ । एघारौं जिल्ला नागरिक सम्मेलनबाट करिब डेढ वर्षअघि माया अधिकारी संयोजक बनेकी थिइन् । मंगलबारको पदस्थापना कार्यक्रममा बोल्दै यस वर्षका संयोजक यज्ञप्रसाद शर्माले नागरिकका तर्फबाट सामाजिक क्रियाकलापमा संस्थाले गर्दै आएको योगदानलाई प्रभावकारी बनाउन आफ्नो प्रयास रहने बताएका छन् ।
गैसस महासंघ पर्वतको २६औँ साधारण सभा तथा ११औँ जिल्ला नागरिक सम्मेलन सम्पन्न
अशोज ६, २०८३




