मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

‘निभेको चुल्होमा रोटरी’ अभियान : १७ परिवारलाई खाद्यान्न र नगद सहयोग

कार्तिक ४, २०८३

पर्वत : विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतको अवसर पारेर रोटरी क्लब अफ पर्वतले ‘निभेको चुल्होमा रोटरी’ कार्यक्रम सञ्चालन गरेको छ ।
आर्थिक अभाव तथा विभिन्न समस्याका कारण दैनिक छाक टार्न कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गर्दै क्लबले खाद्यान्न सामग्री तथा नगद सहयोग गरेको हो । क्लबले विजयादशमीको टीकाको अघिल्लो दिन मङ्गलवार पर्वत जिल्लाका विभिन्न स्थानमा रहेका १५ परिवारलाई करिब एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री तथा नगद रकम हस्तान्तरण गरेको छ । पर्वको खुसी सबै परिवारमा पुगोस् र आर्थिक अभावका कारण कसैको चुल्हो निभ्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबका अध्यक्ष डासीराम अधिकारीले बताए ।
अभियानअन्तर्गत कुश्मा नगरपालिका–१, पाङका दुई परिवार, कुश्मा नगरपालिका–३, दुर्लुङस्थित काफलचौरमा आगलागीबाट प्रभावित २ परिवार, कुश्मा नगरपालिका–७, गोदामका दुई परिवार, मोदी गाउँपालिकाको पातीचौरका दुई परिवार, कुश्मा नगरपालिका–९, कटुवाचौपारीका दुई परिवार, कुश्मा नगरपालिका–१०, पिपलटारीका दुई परिवार र कुश्मा नगरपालिका–१२, ठूलीपोखरीका चार परिवारलाई सहयोग गरिएको हो ।
सहयोग स्वरूप प्रत्येक परिवारलाई चामल, दाल, नुन, तेललगायत दैनिक उपभोगका आवश्यक खाद्यान्न सामग्री तथा नगद रकम प्रदान गरिएको छ । विशेष गरी आर्थिक अभावका कारण चाडपर्व मनाउन कठिनाइ भएका तथा सामाजिक गतिविधिमा समेत सहभागी हुन नसक्ने अवस्थामा रहेका परिवारलाई लक्षित गरी सहयोग वितरण गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष अधिकारीले ‘निभेको चुल्होमा रोटरी’ कार्यक्रमले आर्थिक समस्यामा परेका परिवारलाई राहत प्रदान गर्नुका साथै चाडपर्वको समयमा उनीहरूमा खुसी र आत्मीयताको अनुभूति गराउने उद्देश्य राखेको बताए । “चाडपर्व सबैका लागि खुसी र उल्लासको समय हो । तर आर्थिक अभावका कारण कतिपय परिवारलाई सामान्य छाक टार्नसमेत कठिन हुन्छ । त्यस्ता परिवारको चुल्हो निभ्न नदिन र चाडपर्वमा उनीहरूलाई पनि खुसी बाँड्न सकियोस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गर्दै आएका छौँ ।” अध्यक्ष अधिकारीले भने ।
उनले क्लबले विगतदेखि नै दशैँको समयमा आर्थिक तथा अन्य समस्याका कारण खाद्यान्नको अभाव भोगिरहेका परिवारलाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । “हाम्रो सानो सहयोगले कसैको घरमा चुल्हो बल्छ, परिवारले सहज रूपमा खाना खान पाउँछ र चाडपर्वमा खुसी थपिन्छ भने त्यो नै हाम्रा लागि ठुलो उपलब्धि हो । आवश्यकतामा रहेका परिवार पहिचान गरी आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिनेछौँ,” उनले भने ।
सहयोग हस्तान्तरणका लागि क्लबका अध्यक्ष अधिकारीसहित सचिव धनराज बी. पौडेल, पूर्व अध्यक्ष शिव शर्मा पौडेल, कृष्ण शर्मा, योगराज गिरी, विजय चापागाईँ तथा आगामी अध्यक्ष नेत्र पौडेललगायतको टोली विभिन्न स्थानमा पुगेको थियो ।
रोटरी क्लब अफ पर्वतले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ । ‘निभेको चुल्होमा रोटरी’ कार्यक्रमले विपन्न तथा समस्यामा परेका परिवारलाई तत्काल राहत पु¥याउनुका साथै चाडपर्वको खुसी र मानवीय सहयोगको भावना समुदायसम्म विस्तार गर्ने हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive