साउन २०, २०७७
पर्वत : पर्वतको महाशिला गाउँपालिकाको लुँखुदेखि पैयूँ गाउँपालिकाको हुवाससम्मको हुवास–लुँखु सडक खण्डको काम गरिरहेको हेमढुङ्गा ठोकर कन्स्ट्रक्सन प्रा.लि का बिरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।
सडक निर्माणको क्रममा महाशिलाको वडा नं ४ र ५ मा पर्ने भागमा सडककै कारण जोखिममा परेका घर तथा विद्यालयलाई सुरक्षित बनाएर डोजर प्रयोग गर्न भनिएको भए पनि त्यसको पालना नभएको भन्दै वडा नं. ५ का वडाध्यक्ष जीवन विक्रम उचै र ४ का वडाध्यक्ष पुरन मल्लले प्रशासनमा उजुरी दिएका हुन् । सडक निर्माणको क्रममा पुर्ण संरचना निर्माण नगरी डोजर प्रयोग गर्दा वर्षा याममा हुन सक्ने क्षती तथा जोखिमको बारेमा निर्माण कम्पनीलाई पटक पटक मौखिक जानकारी गराउँदा समेत वेवास्ता गरेपछि प्रशासनलाई त्यस बारेमा जानकारी गराउनु परेको वडाध्यक्ष तथा महाशिला गाउँपालिकाका प्रवक्ता उचैले बताए ।
निर्माण कम्पनीको लापरबाहीको कारण महाशिला–४ पाखापानीमा रहेको विश्वज्योति माध्यमिक विद्यालयको नव निर्मित ४ कोठे भवन सहित ५ वटा घरमा क्षती पुग्नुका साथै वडा नं ५ को लुँखुदेउरालीका २ वटा घर र पशुपंक्षी फार्म समेत जोखिम परेका उनको भनाई छ। ‘बर्षा याममा प्राविधिक रुपमा समान्य जोखिम नियुनिकरणका कार्य समेत नगर्दा बढी मात्रमा जोखिमको अवस्था सृजना भएको छ’ उचै भन्छन, ‘जोखिम र भावी दुर्घट्नाको बारेमा निर्माण कम्पनीलाई मौखिक रुपमा धेरै पटक अवगत गराइएको थियो । तर त्यसमा कुनै पनि सुनुवाई नगरी काम गर्दा विद्यालय र घरहरुमा क्षति पुग्नुका साथै थप जोखिमको अवस्था आएकाले प्रशासनमा जानकारी दिन बाध्य हुनुपरेको हो ।’
सडक खण्ड अन्तर्गत सेरा–सिम्ले–ज्यामिरे–लुंखु सडक पूर्ण रुपमा बन्द छ । सडक सफा गरी सुचारु गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दा पनि अटेरी गरेको तर सेरा–हुवास सडक भने पहिरो झर्दा वित्तिकै सफा गरी यातयात सञ्चालन गर्नुले राजनितिकरण भएको हुन सक्ने आशंका समेत भएको उचैको भनाई छ ।
सडक बन्द हुँदा कारोना संक्रमितको उपचार लगायत ईलाका प्रशासन कार्यालय हुुवासमा नागरिकता, राहादानी सेवा लिन जाने सेवाग्राहीले समेत सास्ती बेहोर्नु परेको छ । सडक हिलाम्मे भएकोले पैदल यात्रीहरुले समेत कष्टकर एवं जोखिम पुर्ण यात्रा गर्न बाध्य भएको वडा नं. ४ का वडाध्यक्ष मल्लले बताए ।
निवेदन परेपछि प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले निर्माण कम्पनी हेमढुङ्गा ठोकर कन्ट्रक्सन प्रालिलाई तुरुन्तै यातयात सुचारु हुने गरी सडक मर्मत तथा निर्माण कार्य अगाडी बढाउन निर्देशन दिनुका साथै अटेरी गरेमा प्रक्रियागत रुपमा कारवाही अगाडि बढाउने चेतावनी दिएकी छिन् । प्रजिअको आदेश पाएपछि निर्माण कम्पनीले १÷२ दिन भित्रमा सडक सफा गरेर यातायात सुचारु गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल सरकारको सहयोगमा ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत आयोजना कार्यान्वयन ईकाई पर्वतमा सम्झौता गरी उक्त सडक खण्डको निर्माणकार्य चलिरहेको छ ।
महाशिलामा सडक निर्माण गरिरहेको कम्पनी बिरुद्ध दुई वडाध्यक्षको उजुरी
