बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

मन्त्री मनाङे भन्छन् : ‘मेरो सम्पत्तिबारे म नै कन्फ्युज छु’

भदौ २७, २०७८

पर्वत : सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा पुगेको ६० दिनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ। तर गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले भने आफू मन्त्री भएको तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

बरु उनले आफू मन्त्री भएपछि पछिल्लो दुई महिनाको अवधिमा भएका कार्यप्रगतिको बारेमा जानकारी दिन मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरे। आफूले गरेका कामहरूको बारेमा सुनाएका मन्त्री मनाङेले आफ्नो सम्पत्ति विवरणको बारेमा पनि बोल्न भ्याए।

आफूले अरूलाई दिएको पैसा नआएको तथा आफूसँग भएको सम्पत्तिको बारेमा आफैलाई ‘कन्फ्युज’ भएकाले अन्य मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको भए पनि आफूले भने नबुझाएको बताए।

आफूले अरूको बिजनेसको लागि हालिदिएको लगानी र पहिलो श्रीमती र छोरालाई दिएको सम्पत्तिका कारण आफूलाई आफ्नै सम्पत्तिबारे ‘कन्फ्युज’ भएको उनको भनाइ थियो।

‘मेरो सम्पत्तिबारे म सँग के छ के छैन भन्ने कुरामा म आफैँ कन्फ्युज छु। मसँग सम्पत्ति छ, छैन भन्न त मिल्दैन, तर पहिले बिजनेस गर्दा केटाहरूलाई लगानी गरेको हो। अरूलाई दिएको त्यस्तो धेरै पैसा मसँग आएकै छैन। सम्पत्ति विवरणमा आउने वाला छ भनेर लेख्न पनि गाह्रो’ उनले भने, ‘रामेले दुई लाख, श्यामेले तीन लाख लगेको छ भनेर कसरी लेख्ने ? मेरो नाममा केही छैन भनेर अरूको नाममा राखेको भन्ने होइन। सम्पत्ति छ,  तर, पहिलो श्रीमतीलाई दिइसकेको छ, छोराहरूको नाममा राखिसकेको छ। मेरो भनौँ मलाई एक आना जग्गा पनि दिने होइन।’

आफ्नो पुरानो सम्पत्तिमा समेत मुद्दा रहेको बताउँदै उनले त्यो सम्पत्ति अहिले बढेको पनि बताएका छन्। मन्त्री मनाङेले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको पनि दाबी गरेका छन्।

मन्त्री गुरुङको सचिवालयले सम्पत्ति विवरण सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइने जनाएको छ।तर, अझै पैसा आउन बाँकी रहेकाले विवरण नपठाउन मन्त्री गुरुङले पत्रकार सम्मेलनमै सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन्।

११ जना मन्त्री रहेको गण्डकीका मनाङेसँगै भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन्। अन्य नौ जनाले बुझाएको सम्पत्ति विवरण भने यस अगाडि नै सार्वजनिक भइसकेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive