बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतका कृषकलाई कुपोषित हुन नदिन ३० लाख लगानी

चैत्र २, २०७८

संजय रेग्मी
चैत २, २०७८
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटका झकनाथ शर्मा जी.सी अब बेमौसममा पनि हरियो तरकारी फलाउने गरी टनेल निर्माण गर्ने तयारीमा छन्। कुनै सिजनमा यथेष्ट पाइने हरियो तरकारी सिजन सकिएपछि खोज्दा पाइँदैन। स्वास्थ्यको लागि सधैँभर हरिया तरकारी आवश्यक पर्ने भए पनि अभाव हुने भएकोले टनेलमा बेमौसममा तरकारी उत्पादन गर्ने तयारीमा जी.सी छन्।
‘अस्ति भर्खर टनेल बाँड्नुभएको छ। सुख्खाको बेलामा त हरियो परियो देख्नै नपाइने हुन्छ। अहिले पाएको टनेलमा काँक्रो, साग, काउली, गाजर लगाउने सोचेको छु। सिजन सकिएपछि खान हुन्छ,’ उनी भन्छन्, ‘मेरोमा पहिले नै तीन ओटा टनेलमा टमाटर त लगाएको छु। अहिलेको टनेलमा घरै खाने हरिया सागपात उत्पादन गर्नी भन्नी सबैको सल्लाह अनुसार त्यही गर्नी हो।’
जी.सी जस्तै कुश्मा नगरपालिकाको वडा नं. १ पाङ, २ खुर्कोट र ३ पाङका ६० जना कृषकहरूले यसरी नै तयारी गरिरहेका छन्। यसको देन भने गण्डकी प्रदेश सरकारलाई जान्छ। प्रदेशका नागरिकमा पोषण स्तरलाई थप बलियो बनाउने कुरालाई प्राथमिकतामा राखेर ‘खाद्य पोषण सुरक्षा’ कार्यक्रम सुरु गरिएको छ। गण्डकी प्रदेशका ११ ओटै जिल्लामा लागू भएको कार्यक्रम अनुसार पर्वतका कृषकहरूले पनि आफूमा पोषणको मात्रा पूरा गराउन कृषि ज्ञान केन्द्र कार्यालय मार्फत आवश्यकता अनुसारका कामहरू गरेका हुन्।
कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार प्रदेश सरकारले महत्वपूर्ण र प्रभावकारी कार्यान्वयन सहित यो अभियानलाई हालै मात्रै सुरु गरेको छ। त्यसका लागि पर्वतमा मात्रै ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेट विभिन्न ठाउँका छ ओटा कृषक समूहलाई ५÷५ लाखका दरले वितरण गरेर उत्पादन सम्भव भएका र पोषणको मात्रा पूरा गर्न सहयोगी भूमिका खेल्ने वस्तुको उत्पादन गर्न भनिएको छ।
कृषकको रोजाई र आवश्यकता अनुसार हुने उक्त रकमलाई लगानी गरेर कृषकको परिवार सहित सम्भव भएमा छिमेकीलाई पनि पुग्ने गरी पोसिला खाने कुराहरूको उत्पादन गर्ने लक्ष्य कार्यक्रमको छ। ‘कृषकले आफ्नो ठाउँको आवश्यकता र सम्भावनालाई हेरेर पोसिला खाद्य वस्तुहरू उत्पादन गर्न सक्नुहुन्छ। साग मात्रै लगाउने वा टमाटर मात्रै लगाउने भन्ने हुँदैन। कोहीले यसैबाट मौरी पाल्न पनि सक्नुहुन्छ,’ कृषि विकास अधिकृत थापा भन्छिन्, ‘उहाँहरूले व्यावसायिक रूपमा तरकारी खेती गरेर आम्दानी बढाउनुहोला भन्ने उद्देश्यले नभएर घरका लागि चाहिने पोसिला खाना उत्पादनमा लगानी गर्नको लागि यो रकम गएको छ। घरमा प्रयोग गरेर बढी भए त विक्री गर्न पनि मिल्यो नै।’
कृषक र उसको परिवार सहित छिमेकीको पोषणको अवस्थामा समेत सुधार ल्याउने गरी घर–घरबाट प्रयास हुनुपर्छ भन्ने मान्यता राखेर कार्यक्रम सुरु गरिएको हो। कम्तीमा पनि आफ्नै घरमा मह, तरकारी, फलफूल, भैँसी पालन, लगायतका काम पनि कृषकहरूले यो कार्यक्रमबाट गर्न सक्नेछन्। पोषणका अभावमा देखिएको कुपोषण र ख्याउटेपन हटाउन तथा कृषकका घरमा रहेका बालबालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पनि यो कार्यक्रम उपयोगी हुने छ।
यो कार्यक्रममा सहभागी हुनका लागि आवेदन खुलाउँदा ११ ओटा समितिबाट निवेदन आएको भए पनि महिलाद्वारा सञ्चालितलाई प्राथमिकता, गरिब, दलित तथा आर्थिक रूपमा कमजोर रहेकाहरूलाई विशेष जोड र यस अगाडि यस्ता खालका सहयोग नपाएकाहरू हरेर छ ओटा समूहलाई छनोट गरिएको कार्यालय प्रमुख थापाले बताइन्। पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट, फलेवास नगरपालिका–४ मुडिकुवा, मोदी गाउँपालिका–५ को बाजुङ र छापा फलाल्ने, जलजला गाउँपालिका–९ बनौँ र कुश्मा नगरपालिका–११ पकुवामा यो कार्यक्रम सुरु हुन लागेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive