बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

२२ वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालनको तयारी

मंसिर २, २०८०

पर्वत : जिल्लाको हुवासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तीव्र रूपमा तयारी भइरहेको छ।

विगत २२ वर्षदेखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको वातावरण तयार गर्न काठमाडौंस्थित देउराली फाउन्डेसनले काम गरिरहेको छ। यसै सिलसिलामा स्थानीय सरोकारवाला व्यक्ति, सङ्घ, संस्था र स्थानीय सरकारसँग समेत गरिएको पटक पटकको छलफलपछि देउराली फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम सुरु गरेको हो।

फाउन्डेसनको सचिवालय बैठकले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाका लागि अस्पताल परिसरमा तारजाली लगाई गेट निर्माण गर्नुपर्ने ठहर गरेसँगै परिसरमा तारजाली लगाई गेट हाल्ने र सेफ्टी ट्याङ्की बनाइएको छ। दोस्रो चरणअन्तर्गत भवनहरूको मर्मत, रंगरोगन, विद्युतीकरण र प्लम्बिङ सम्बन्धी काम पनि सुरु गर्न लागिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले बताए।

अहिले भएका काममा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेन्ट नेपालीसँगै काम गरिरहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

अमेरिकाबाट आएका विशेषज्ञ डाक्टरको समूहले स्थानीय साझेदारहरूसँगको सहकार्यमा वि.सं. २०५० सालमा स्थापना गरिएको मिसन अस्पताल आठ वर्ष मात्र सञ्चालन भई २०५८ सालदेखि बन्द छ। इतिहास बोकेको र स्थानीय जनतामाझ लोकप्रिय अस्पताल फेरि सञ्चालन हुन लाग्दा हुवाससहित पर्वतको दक्षिणी क्षेत्रका नागरिक खुसी भएका छन्।

द्वन्द्वकालमा चिकित्सक बस्न नसक्ने लगायतका समस्या आएपछि अस्पताल बन्द भएको थियो। अस्पतालले स्थानीयलाई निकै सहज बनाएको भए पनि अस्पताल बन्द भएपछि त्यहाँका बासिन्दा सदरमुकाम कुश्मा बजारसहित पोखरा र स्याङ्जाको वालिङ लगायतका ठाउँमा जान बाध्य छन्।

पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार कोभिड–१९ को महामारीका वेला उक्त अस्पताललाई गाउँपालिकाले सञ्चालन गर्ने प्रयास गरिए पनि ठाउँका बारेमा विवाद भएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive