पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा कोभिड १९ बाट पुगेको शैक्षिक क्षति परिपूरण तथा रियल प्लान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकामा रहेको सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू सहभागी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख स्वथानी रिजालले नगरपालिकाले शैक्षिक गतिविधि सञ्चालनका लागि सकेसम्मको प्रयास गरिरहेको बताउनुभयो । विद्यालयमा आएका समस्या समाधानका लागि जनप्रतिनिधिहरू सक्रिय र चनाखो बन्नुपर्ने उहाँको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले शिक्षकहरूबाट आएका उपयुक्त मागहरूलाई नगर सभामा राखेर पूरा गर्नका लागि प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभिमुखीकरणमा सिकेका कुराहरूलाई विद्यालयमा पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने उपलब्धि निस्किने उहाँको विश्वास छ ।
यस्तै नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले ती वर्ष अगाडि शिक्षाका लागि एक करोड ४० लाख, दोस्रो वर्षमा ७० लाख रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ मात्रै विनियोजन हुँदा शैक्षिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको बताउनुभयो । विद्यार्थी ज्यादै न्यून भएका विद्यालयमा बजेट दिन नहुने कुरा कतै सुनिने गरेको भन्दै शाखा प्रमुख तिवारीले एक जना मात्रै विद्यार्थी भए पनि उक्त विद्यालयमा सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।

विभिन्न विद्यालयका करिब ७० जना शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी, अर्जुन पौडेल, फलेवास नगरपालिकाका शिक्षा अधिकृत टङ्कनाथ पौडेल र शिक्षक दामोदर पौडेलले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले सिकाई आपूरण र द्रुत सिकाई, रियल प्लान, तथ्याङ्कको प्रविष्टि र विश्लेषण, इमिस प्रणालीमा विद्यालयका सूचना व्यवस्थापन, विषयगत रूपमा आउने समस्या र समाधान लगायतको विषयमा सहभागीहरूसँग छलफल गर्नुभयो ।
नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा विषयवस्तुको उद्देश्यका बारेमा शिक्षा अधिकृत अर्जुन पौडेलले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत दीपक सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी शिक्षकहरुले अभिमुखीकरणको विषयवस्तुबाहेक विद्यालयको छाना चुहिँदा पनि मर्मत हुन नसकेको, शौचालय भत्किँदा समस्या भएको, विनियोजित बजेट पनि प्राप्त नभएको, गत वर्ष नगरपालिकाले एकीकृत रूपमा वार्षिक परीक्षा सञ्चालन गरेको भए पनि पछिल्लो वर्षमा उक्त कार्यक्रम कटौती गरेको समस्याका बारेमा नगरपालिकाको टोलीसमक्ष गुनासा पोख्नुभएको थियो ।





