बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

ग्रामीण बस्तीमा राखेको स्वास्थ्य शिविरमा ११ सय बिरामीले पाए सेवा

कार्तिक २४, २०८१

पर्वत : ग्रामीण क्षेत्रमा रहेका तथा आर्थिक समस्याका कारण चाहेर पनि अस्पताल जान नसकेका लगायतलाई लक्षित गरी जिल्लाको फलेवास नगरपालिकामा राखिएको स्वास्थ्य शिविरमा एक हजार एक सय जनाको स्वास्थ्य परीक्षण भएको छ।
वि.पि. चिन्तन प्रतिष्ठान काठमाडौँको आयोजनामा फलेवास नगरपालिका–५ खानीगाउँ स्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा बुधवार र बिहीबार गरी दुई दिनका लागि निःशुल्क स्वास्थ्य शिविर राखिएको थियो।  फलेवास नगरपालिका, खानीगाउँ वडा कार्यालय र भवानी विद्यापीठ माध्यमिक विद्यालय समेत आयोजक रहेको शिविरका लागि खानीगाउँको धुलिखेल अस्पतालले समन्वय गरेको थियो।
शिविरमा तीन सय ५० जनाले मुटु रोग सम्बन्धी, दुई सय २० जनाले हाड, जोर्नी तथा नशा रोग सम्बन्धी, एक सय ५० जनाले छाती रोग सम्बन्धी, दुई सय जनाले दाँत रोग सम्बन्धी, दुई सय जनाले जनरल मेडिसिन सम्बन्धी र महिला प्रजनन रोग सम्बन्धी ७० जनाले सेवा लिएका भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मीले जानकारी दिए।
विभिन्न स्वास्थ्य समस्या भएर पनि उपचारको लागि पोखरा काठमाडौँ लगायतका ठाउँमा जाने समय नभएका तथा आर्थिक समस्याका कारण रोग पालेर बसिरहेका सेवाग्राहीको लागि शिविर उपयोगी भएको उनको भनाइ छ। ‘ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा पाउन समस्या नै हुन्छ। कतिपय ज्येष्ठ नागरिकहरू बाहिरका हस्पिटलहरूमा जान कठिन हुने भएकोले रोग पालेर पनि बसेका हुन्छन्’, प्रधानाध्यापक रेग्मीले भने, ‘हस्पिटलमा जाँदा सामान्य परीक्षणको पनि हजारौँ रुपैयाँ खर्च हुने भएकाले आर्थिक समस्यामा रहेकाहरू बाध्यताले रोग पालेका हुन्छन्। यो शिविरमा त्यस्ता समस्यामा रहेकाहहरुले सेवा पाएका छन्।’
शिविरमा मुटु रोग विशेषज्ञ डा. कमल लम्साल, छाती तथा दम रोग विशेषज्ञ डा. सुबोध ढकाल, बाल रोग विशेषज्ञ डा. बलराम विष्ट, बाथ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. अमृत घिमिरे, स्त्री रोग विशेषज्ञ डा. शारांसिका भण्डारी, दन्त रोग विशेषज्ञ डा. प्रतिभा धमला तथा सामान्य चिकित्सातर्फ डा. नरेन्द्र मैनाली लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive