अमेरिकालाई धेरै नेपालीहरूले सपना पुरा हुने देशका रूपमा हेरेका छन्। कसैले उच्च शिक्षा प्राप्तिका लागि, कसैले रोजगारीका लागि, त कसैले सुरक्षित भविष्यको खोजीमा अमेरिका टेक्ने निर्णय गरेका छन्।
प्रारम्भिक संघर्ष, भाषा र संस्कृतिको भिन्नता, कामको कठिनाइ — यी सबै पार गर्दै जब जीवन केही सहज बन्छ, त्यहीँबाट सुरु हुन्छ एउटा नयाँ मानसिकता — आफूलाई अरूभन्दा ठूलो ठान्ने प्रवृत्ति। आज अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरू आफैंलाई ‘ठूलो मानिस’ सम्झन्छन्। अमेरिका आएको निहुँमा आफूलाई विशिष्ट मान्ने, अरूलाई सानो देख्ने, र सफल व्यक्तिको पछि आलोचना गर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ। दु:खको कुरा के छ भने, यी व्यक्तिहरूले समाज वा समुदायको लागि खास योगदान दिँदैनन्, तर अरूको निन्दा गर्न भने अग्रसर हुन्छन्।
कार्यक्रमहरूमा भाग लिँदा मुस्कान देखिन्छ, तर त्यो मुस्कान बनावटी हुन्छ। हात मिलाउँदा मित्रता देखिन्छ, तर मनभित्र घृणा, ईर्ष्या र तुलना लुकेको हुन्छ। एकअर्काको सफलता सहन नसक्ने, सानातिना कुरामा गुट बनाएर बस्ने, अनि सामाजिक सेवा भन्दा पनि व्यक्तिगत पहिचान, पद र प्रतिष्ठाको लडाइँमा रमाउने — यो अहिलेको प्रवासी नेपाली समाजको कटु यथार्थ हो। अझ दुःखद पक्ष त के छ भने — यहाँका धेरै नेपालीहरू अझै पनि नेपालको राजनीतिक गन्ध बोक्दै हिंडिरहेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी — यिनै दलहरूको नाममा अमेरिका बस्दैमा पनि गुटबन्दी, पदको होडबाजी, र झण्डाको राजनीति गरिन्छ। कुनै पनि सामूहिक कार्यक्रम पार्टी र समूहको आधारमा विभाजित हुन्छ। एउटै शहरमा बस्ने नेपालीहरू चार फरक संस्थामा विभाजित छन्, केवल विचार र व्यक्तिको आधारमा। समाज भन्ने शब्द अब केवल ‘नाम’ को लागि बाँकी छ। आत्मीयता, एकता, र सहयोग भावना दिनानुदिन हराउँदै गएको छ।
पहिलेजस्तो चाडपर्वमा सबै मिलेर बस्ने, दुःखमा साथ दिने, वा खुशीमा साझा भएर रमाउने चलन अब केवल यादमा सीमित छ। अर्को गहिरो संकट भनेको सम्बन्धको बिछोड हो। अहिलेका नेपालीहरू एक–अर्कासँग नजिक हुनुको सट्टा दिनानुदिन टाढा हुँदै गएका छन्। आत्मीयता छैन, विश्वास छैन, माया छैन। मानिसहरू एक–अर्काबाट अलग हुँदै गएका छन्, जसले गर्दा समाज टुक्रा–टुक्रामा विभाजित भएको छ। साँचो अर्थमा भन्ने हो भने — ‘नजिक देखिने तर मनबाट टाढा’ भन्ने अवस्थामा नेपाली समुदाय पुगेको छ। अहिलेको अवस्थाले नयाँ पुस्तामा नकारात्मक प्रभाव पारिरहेको छ।
अमेरिका जन्मिएका वा हुर्किएका नेपाली बालबालिकाहरू नेपाली भाषा, संस्कृति र पहिचानप्रति उदासीन हुँदै गएका छन्। उनीहरूले हेर्ने समाज भनेको झगडा, गुट, स्वार्थ र आलोचना मात्रै देख्ने छन्। त्यो देखेर उनीहरू नेपाली पहिचानबाट टाढा जान्छन्। अब समय आएको छ — जहाँ हामीले आत्मसमीक्षा गर्नुपर्छ। हामी कुन बाटोमा छौं? के हामी साँचै नै अमेरिका आएर अग्रगामी भएका हौं? कि केवल व्यक्तिवादी, अहंकारी र समाजविरोधी सोच बोकेर बाँचिरहेका हौं?
हामीले अब आफ्ना व्यवहारहरू बदल्न आवश्यक छ। नेपाली भएर अमेरिकामा बस्नु गर्वको कुरा हो — तर त्यो गर्व केवल व्यक्तिगत उन्नतिमा होइन, समुदाय र संस्कारमा समेत देखिनुपर्छ। अब गफ होइन, व्यवहारमा परिवर्तन ल्याउने समय आएको छ। अर्काको पछि कुरा गर्ने होइन, एक–अर्काको साथ दिने संस्कार पुनः स्थापित गर्न आवश्यक छ। राजनीतिक गुट होइन, साझा पहिचान बनाउने प्रयत्न गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण — टाढिएको मनहरूलाई फेरि नजिक ल्याउने पहल हामी आफैँबाट सुरु गर्नुपर्छ। यस्तो समाज बनाऔं, जहाँ स्वार्थभन्दा सेवा, गुटभन्दा एकता, र आलोचनाभन्दा आत्मीयता बोलियोस्। नत्र हाम्रो समुदाय केवल देखावटी अनुहारहरूको भीड बन्नेछ — जहाँ न त आत्मा बाँकी हुनेछ, न नै साँचो नेपालीपन।
लेखक : प्रभात अर्याल, क्यालिफोर्निया, अमेरिका




