पर्वत : आइतबारको २२ औँ निजामती सेवा दिवसका अवसरमा पर्वतमा पनि तीन दिनसम्म विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।
दिवसको अवसरमा जिल्लामा गठन गरिएको मूल समारोह समितिको आयोजनामा भदौ २० गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिएका हुन् । आइतबार अन्तिम जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजना गरिएको कार्यक्रममा फरक फरक विधाका विजेताहरूलाई पुरस्कार वितरण सहित दिवसको अवसरमा आयोजित मूल समारोह सम्पन्न भएको छ ।
निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी रहनुभएको थियो । उक्त कार्यक्रममा पर्वत जिल्ला अदालतका श्रेस्तेदार ख्यामनारायण लामिछाने, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम, प्रमुख कोष नियन्त्रक ज्ञान प्रसाद अर्याल, जिल्ला न्याधिवक्ता जीवनाथ सुवेदी, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू, कर्मचारी मिलन केन्द्रका सचिव मतिलाल चपाइ, विभिन्न कार्यालयका प्रमुखहरू, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष दीपक सुवेदी, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष अर्जुन चापागाईँ, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष उमेश सापकोटा, ट्रेड युनियनका अध्यक्ष उद्धीमराज पौडेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख तिवारी सहितका अतिथिहरूले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कर्मचारीहरूको असल सेवा प्रवाहले नै जनतामा खुसी आउने बताउनुभयो । जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिन काम निजामती कर्मचारीहरूको नै भएकोले उनीहरूले प्रवाह गर्ने सेवाका आधारमा देशको अवस्थाका बारेमा थाहा हुने उहाँहरूको भनाई छ ।
कार्यक्रममा दिवसका अवसरमा भदौ २० गते आयोजना भएको निजामती कर्मचारी तथा सुरक्षाकर्मीहरूबिच छुट्टा छुट्टै रूपमा आयोजना भएको ब्याडमिन्टन प्रतियोगिताका विजेताहरूलाई पुरस्कारहरू वितरण गरिएको छ । ब्याडमिन्टन प्रतियोगिताको निजामतीतर्फ शङ्कर भट्टराई र सूर्य शर्मा प्रथम तथा सुनिल थापा र लोकबहादुर खड्का द्वितीय बन्नुभएको थियो । यस्तै सुरक्षाकर्मीतर्फ हुमबहादुर सारू र लालबहादुर राना प्रथम तथा ज्ञानबहादुर सुनार र ललित विष्ट द्वितीय हुनुभएको थियो ।

यस्तै २१ गते निजामती कर्मचारीहरूको स्वास्थ्य परीक्षणमा सहयोग गरेको प्रदेश अस्पताल पर्वत र २२ गते आयोजना भएको कविता प्रतियोगिताका विजेताहरूलाई पुरस्कार र सहयोग गरेकाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
दिवसको अन्तिम दिन आयोजना भएको कविता प्रतियोगितामा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य प्रथम, जिल्ला प्रशासन कार्यालयका भरत सापकोटा द्वितीय, महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय तृतीय र जिल्ला निर्वाचन कार्यालयकी सृजना रेग्मी सान्त्वना भएका छन् । कविता प्रतियोगिताको निर्णायकमा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत एवं सङ्गठनका अध्यक्ष दीपक सुवेदी, आनन्द प्रसाद शर्मा, गोविन्द पौडेल र शुष्मा आचार्य रहनुभएको थियो ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतका अध्यक्ष तथा कविता प्रतियोगिताका संयोजक दीपक सुवेदीको स्वागतसँगै सुरु भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भरत सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा ट्रेड युनियन पर्वतका अध्यक्ष उद्धीमराज पौडेल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष उमेश सापकोटा, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य याम प्रसाद शर्मा लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । दिवसकै अवसरमा जिल्ला प्रशासन कार्यालय पर्वतमा सेवा लिन आउनुभएका पहिलो तथा ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।
‘व्यावसायिक र सृजनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यस वर्षको निजामती दिवस मनाइएको हो ।





