बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026

विदेश पठाउने उपहारमा स्थापित पर्वतमा उत्पादित लप्सीको अचार र क्यान्डी

कार्तिक १९, २०८२

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसालले सञ्चालन गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगमा नै ग्राहक पुग्छन्। घरमा आफैले खानको लागि होस वा विदेशमा रहेका आफन्तलाई उपहार पठाउन नै किन नहोस्? सबैको रोजाइमा पर्ने गरेको छ लप्सीको अचार र क्यान्डी।
वि.सं. २०५८ सालमा मुडिकुवास्थित शिर्सुवामा भुसालले स्थापना गरेको खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको अचार, क्यान्डी, माडा लगायतका परिकारहरू स्थानीय बजारमा मात्रै प्रख्यात छैनन्। उद्योग स्थापना हुनु पूर्व गाउँ गाउँमा झरेर खेर जाने गरेका लप्सी बिक्री गरेर गाउँका कृषकहरूले आर्थिक लाभ समेत लिइरहेका छन्।
लप्सी उत्पादनमा नेपालमा नै प्रख्यात रहेको पर्वतमा उत्पादित लप्सीका परिकारहरू कुश्मा बजार सहित बागलुङ, बेनी लगायतका बजारहरूमा उपलब्ध छन्। बिक्रीका लागि राखिएका उत्पादनहरू सहजै बिक्री हुने गरेका कुश्मामा ‘डिपार्टमेन्ट’ सञ्चालन गर्दै आइरहेका व्यवसायीहरू बताउँछन्।
रोजगारीका लागि खाडी मुलुकमा रहेकादेखि, अमेरिका र युरोपमा रहेका आफन्तहरूलाई पनि लप्सीका परिकारहरू पठाउनको लागि धेरै ग्राहकहरू आफ्नो उद्योगमै आउने गरेको सञ्चालक भुसालले बताए। उद्योगमा उत्पादित क्यान्डी, अचार, जाम, तितौरा, माडा, बोक्राको पाउडर तथा बीउ पनि उपभोक्ताको रोजाइमा छन्। उद्योगमा अमलाका क्यान्डी, तितौरा, ड्राइ अमला, अचार, अदुवाको क्यान्डी, अचार, पाउडर, सुन्तलाको जाम र जेली पनि उत्पादन हुँदै आएको छ। बालबालिका र ज्येष्ठ नागरिकलाई पोषणको आपूर्तिका लागि मकै, चना, भट्ट, फापर, जौ, बदाम लगायतका खाद्य बस्तु मिश्रित सातुले पनि राम्रो बजार पाइरहेको छ।
हलेदोको पाउडर, पलमको जाम र जेली, मुला, काउली, गाजर, अकबरे खुर्सानी, कागती, करेलाको अचार, मोरिङ्गा पाउडर सहित कृषि र वनमा आधारित कच्चा पदार्थको प्रशोधन सहरदेखि गाउँका उपभोक्ताको रोजाइमा परेको भुसाल बताउँछन्। जिल्लामै सफल कृषक तथा व्यवसायीको रूपमा स्थापित बनेका भुसालले गाउँ गाउँबाट लप्सी खरिद गर्दा सामान्य कृषकहरू पनि लाभान्वित बनेका छन्।
‘उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरू पर्वतकै  विभिन्न स्थानहरूबाट ल्याउने गरिएको छ। लप्सी, अमला, अदुवा लगायतका कच्चा पदार्थहरू जिल्लाभित्रै पाउँदा गाउँमा खेर जाने वा मूल्यहीन अवस्थामा रहेका बस्तुहरूले पनि बजार पाएका छन्’, उनले भने, ‘हामीले उत्पादन गरेका बस्तुहरू पर्वत जिल्ला त भइहाल्यो। यो बाहेक बागलुङ, पोखरा लगायतका सहरमा जाने गरेको छ। अझ विशेष गरी वैदेशिक रोजगारीमा गएका तथा विदेशमा नै बसोबास गरिरहेकाहरूलाई उपहारको रूपमा यहाँका उत्पादनहरू पठाउने गर्नुभएको छ।’
लेबलिङ र प्याकेजिङको कामलाई विशेष महत्वका दिएका कारण पनि विदेशमा पठाउनेहरूलाई सहज र आकर्षक भएको भुसालको अनुभव छ। २२/२३ वर्षको अवधिमा विशेष गरी लप्सीका परिकारहरू धेरैको रोजाइमा पर्दा बजार पनि राम्रो बनेको छ।
उद्योगमा लगानीदेखि हरेक कुराहरू पहिलेको तुलनामा बढ्दै गइरहेको छ। सुरुमा पर्वत सामुदायिक विकास संस्थाले प्राविधिक सहयोग गरेपछि भुसाल यसमा आकर्षित भएका हुन्। लप्सीको बजारीकरणमा लामो समयदेखि अभियान चलाउँदै आएका ऋषिकेश तिवारीको प्रेरणामा आफूले उत्पादन सुरु गरेको बताउँदै उनले कहिलेकाहीँ भने बजारीकरणको समस्या हुने गरेको सुनाए।
विशेष गरी कोभिड–१९ को महामारीको बेलामा सुस्ताएको बजारको अवस्थामा अहिले पनि त्यति राम्रो सुधार नहुँदा कहिलेकाहीँ भने निराश बन्नुपरेको भुसाल बताउँछन्। ‘उत्पादन त हामी जति पनि गर्न सक्छौँ तर बजारीकरणको समस्या भने बेला बेलामा भोग्ने गरिएको छ। बजारमा मन्दी लागेपछि समस्या भएको छ’, उनले भने, ‘पहिले अमेरिकासम्म पनि निर्यात गरिएको हो। तर कोभिडको बेलाबाट कमी आयो। हामीले उत्पादन गरेकामध्ये करिब ४० प्रतिशत त बाहिरी देशमा नै जाने गरेको छ।’
पर्वत सहित आसपासका जिल्लाका कृषक तथा समूहहरूलाई समेत तालिम दिने, ग्राफ्टीङ प्रविधि सिकाउने लगायतका काम समेत गर्दै आएका भुसालले आफूहरूको उद्देश्य कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाउने रहेको बताउँछन्। कृषि उद्यमको माध्यमबाट स्थानीय कृषकहरूको सिप र दक्षतामा अभिवृद्धि गरी स्वरोजगार बनाउन सके बेरोजगारी समस्या घटाउन बल पुग्ने उनको भनाइ छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive