मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

लोकतन्त्र, मत र विश्वासको पुनर्निर्माण

माघ १७, २०८२

पर्वत : आम जनतामा लोकतन्त्रप्रतिको विश्वासको जगमा अडिएको शासन व्यवस्थाको स्थायित्वका लागि प्रणालीगत रूपमा पुस्तान्तरण र हस्तान्तरणको आवश्यकता महसुस भइरहेको बदलिँदो परिवेशमा आज नेपाल र नेपाली उभिएका छन् । राणा शासन, पञ्चायत र प्रजातन्त्र हुँदै आएको राजनीतिक यात्रामा लामो समयसम्म लोकतान्त्रिक व्यवस्थाको वास्तविक स्वाद लिन नपाएको हाम्रो समाज विभिन्न उतार–चढावपछि आज फेरि निर्वाचनको चहलपहलमा रमाइरहेको छ । गाउँदेखि शहरसम्म चुनावी माहोल देखिन थालेको छ ।
लोकतन्त्र जनताको सर्वोच्चतामा आधारित शासन प्रणाली हो । यसको शक्ति कुनै संस्था, व्यक्ति वा पदमा होइन, जनताको सचेत सहभागितामा निहित हुन्छ । जनसहभागिताको सबैभन्दा प्रभावकारी माध्यम भनेकै मत हो । हरेक मतले केवल प्रतिनिधि मात्र चयन गर्दैन, यसले राज्यको दिशा, शासनको चरित्र र समाजको भविष्य पनि निर्धारण गर्छ ।
आज हामी यस्तो समयको साक्षी बनेका छौँ, जहाँ जनतामा आशा र निराशा दुवै एकसाथ देखिन्छ । एकातिर परिवर्तनको तीव्र चाहना छ भने अर्कोतिर विगतका अनुभवले जन्माएको अविश्वास पनि गहिरो छ । बेरोजगारी, महँगी, कमजोर सार्वजनिक सेवा, सुशासनको अभाव र राजनीतिक अस्थिरताले आम नागरिकको जीवन कठिन बनाइरहेको यथार्थ हाम्रो सामु छ ।
यही परिवेशमा इमानदार, जिम्मेवार र जनमुखी नेतृत्वको आवश्यकता झन् बढेको छ । ‘राजनीति नाराको प्रतिस्पर्धा होइन, समाधान खोज्ने गम्भीर अभ्यास हुनुपर्छ’ भन्ने अपेक्षा आम मतदाताको हो । राजनीति पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि होइन, सेवा, उत्तरदायित्व र सकारात्मक परिवर्तनको माध्यमका रूपमा स्थापित हुनुपर्छ ।
जनताले भोगिरहेका समस्या नेताका लागि सुनेका कथा मात्र होइनन्, प्रत्यक्ष अनुभूति हुन् । युवा रोजगारीको खोजीमा विदेशिनु पर्ने बाध्यता, किसानले उत्पादनको उचित मूल्य नपाउनु, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको असमानता, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका सरोकार—यी सबै विषय समाधानको प्राथमिकतामा पर्नै पर्छ । चुनावी नारामा उम्मेदवारको जनताप्रतिको प्रतिबद्धता स्पष्ट, व्यवहारिक र विश्वसनीय हुन आवश्यक छ । शिक्षामा गुणस्तर सुधार र समान पहुँच, स्वास्थ्य सेवामा पारदर्शिता र सहज उपलब्धता, स्थानीय स्रोत र सीपको उपयोगमार्फत रोजगारी सिर्जना, भ्रष्टाचारविरुद्ध कठोर नीति र सुशासन, तथा सबै वर्ग, क्षेत्र र समुदायलाई सम्मान र अवसरको सुनिश्चितता—यी विषयमा स्पष्ट कार्ययोजना अपेक्षित छ ।
जनप्रतिनिधि भनेको चुनावपछि हराउने व्यक्ति नभएर जनताको बीचमै रहने, जनताकै आवाज बन्ने र सधैँ संवादमा रहने पात्र हुनुपर्छ । आलोचना स्वीकार गर्ने, सुधारमा प्रतिबद्ध रहने र विकास योजनाहरू जनताको आवश्यकता तथा सुझावका आधारमा तय गर्ने नेतृत्वको आज आवश्यकता छ । नातावाद र कृपावादमा अल्झिएको होइन, उत्तरदायित्व र पारदर्शितामा आधारित राजनीति आजको माग हो ।
चुनाव लोकतन्त्रको उत्सव हो । यो लोभ, डर र भ्रमको आधारमा होइन, विवेक, मूल्य र भविष्यप्रतिको सोचका आधारमा निर्णय गर्ने समय हो । आजको यो महत्वपूर्ण घडीमा आम जनता केवल मत होइन, इमानदार नेतृत्वप्रतिको विश्वास खोजिरहेका छन्। एक–एक मतले सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वास अझै जीवित छ ।
नेपाली आम मतदाता सरल र तरल दुवै स्वभावका छन् । इतिहास हेर्ने हो भने हरेक कालखण्डमा जनताले विश्वासका साथ नेतृत्वलाई अवसर दिएको देखिन्छ । तर अवसर पाएकाहरूले अपेक्षित रूपमा जनताको जीवनमा परिवर्तनको किरण ल्याउन नसकेको यथार्थ पनि स्वीकार गर्नुपर्छ । त्यसैका बाबजुद आज पनि जनता फेरि परिवर्तनको आशा र विश्वाससहित मत जाहेर गर्न तयार छन् । त्यसैले, आज हामी नेतृत्वसँग आग्रह गर्छौं—विश्वाससहित मत मागौँ, आशा जगाऔँ र उत्तरदायी शासनको बलियो आधार निर्माण गरौँ । उज्यालो भविष्य सामूहिक प्रयासबाट मात्र सम्भव छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive