पर्वत : गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झनामा सोमबार पर्वतमा दीप प्रज्वलन गरिएको छ ।
बाढीमा परी मृत्यु भएका करिब १३ सय जनाको दिवंगत आत्माको चिरशान्तिको कामना, शोकमा रहेका परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना तथा बाढीमा बेपत्ता रहेका पाँच हजारभन्दा बढी व्यक्तिको अवस्था यथाशीघ्र पत्ता लागोस् भन्ने प्रार्थनासहित दीप प्रज्वलन गरिएको हो ।
नेपाल सरकारले भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति शोक व्यक्त गर्दै बाढीपछिको १३औँ दिनमा राष्ट्रिय शोक मनाउने तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेअनुसार पर्वतमा पनि शोक सभा तथा दीप प्रज्वलन गरिएको हो । कुश्मा नगरपालिका–स्थित लोकतान्त्रिक चोकमा पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नागरिक समाज सञ्जाल पर्वत, गैरसरकारी संस्था महासंघ नेपाल पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, इनरह्वील क्लब अफ पर्वत, पर्वत मिलन क्लब, प्याब्सन पर्वतलगायत विभिन्न संघसंस्था तथा नागरिकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । उनीहरूले केही समय मौन धारण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेका थिए ।
कार्यक्रममा सहभागी सबै संघसंस्थाको तर्फबाट शोक व्यक्त गर्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेलले भोटेकोशी बाढीका कारण नेपाली तथा विदेशी नागरिक गरी हजारौँ व्यक्तिको मृत्यु र बेपत्ता हुनु सम्पूर्ण नेपालीका लागि अत्यन्त दुःखद् घटना भएको बताए । उनले विपत्तिको यस दुःखद् घडीमा सबै नागरिकले धैर्य धारण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिए । पर्वत उद्योग वाणिज्य संघले पनि विपत्तिमा संस्थागत रूपमा सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले दुःखको समयमा हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए ।
“दुःखको बेलामा हरेक नेपाली एकजुट हुन्छन् भन्ने सन्देशलाई पुष्टि गर्दै नागरिक, राजनीतिक दल र सरकार एकजुट भएर लाग्नुपर्छ,” अध्यक्ष पौडेलले भने, “सरकारले पनि सरोकारवाला निकायहरूसँगको सहकार्यमा जतिसक्दो छिटो पीडा कम गर्ने र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने प्रयास गर्नुपर्छ ।”
दीप प्रज्वलनमार्फत बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी तथा प्रभावित परिवारको पीडामा साथ दिन सबै पक्षलाई आह्वान गरिएको थियो ।

- यज्ञ प्रसाद शर्मा




