पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा लक्षित विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिका अन्तर्गत रहेका सबै १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रमले २०८२ सालको एस.इ.ई. परीक्षामा सहभागी हुने विद्यार्थीहरुको अध्ययन र सिकाईप्रति रुचि जगाओस भन्ने उद्धेश्यले आयोजना गरिएको गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्मा पौडेलले बताए ।
प्रतियोगितामा नवजागृत माध्यमिक विद्यालय प्रथम, सरस्वती माध्यमिक विद्यालय द्वितीय र देउपुर नमुना आवासीय माध्यमिक विद्यालय तृतीय तथा जननेत्र माध्यमिक विद्यालयले सान्त्वना स्थान हात पारेका छन् ।
प्रथम स्थान हासिल गर्ने विद्यालयले नगद १२ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय स्थान प्राप्त गर्ने विद्यालयले नगद आठ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूले क्रमशः नगद छ हजार र चार हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । साथै, कार्यक्रममा सहभागी सबै विद्यालयलाई नियमानुसार यातायात खर्च तथा सहभागिताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले बताएको छ ।
कार्यक्रममा विजयी विद्यार्थीहरू तथा सम्बन्धित विद्यालयलाई बधाई दिँदै सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको छ । साथै, आगामी चैत १९ गतेदेखि सुरु हुने एस.इ.ई. परीक्षा – २०८२ परीक्षामा थप तयारीसहित उच्च सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ ।
मोदी गाउँपालिकामा एस.इ.ई लक्षित विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
फाल्गुन ९, २०८२




