मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

कुश्मामा अफ्रिकन स्वाइन फिवरको आशङ्का, मिल्दो लक्षणले मरे ४६ सुँगुर÷बङ्गुर

फाल्गुन २७, २०८२

पर्वत : जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ ।

कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर÷बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यहाँ रहेका ४६ वटा सुँगुर÷बङ्गुर मरेका नगरपालिकाको पशु सेवा शाखाका प्रमुख तथा चिकित्सक डा. रूपक कँडेलले बताए । उक्त रोगको निदान र पुष्टि गर्नको लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखरामा नमुना पठाइएको छ । नमुनाको नतिजा नआउनेबेलासम्म ‘अफ्रिकन स्वाइन फिवर’ नै हो भन्ने यकिन नभएको भए पनि लक्षणहरू स्वाइन फिवरकै जस्तै भएका र धेरै सङ्ख्यामा सुँगुर÷बङ्गुर मरेकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

उक्त रोगको आवश्यक रोकथाम र नियन्त्रण गर्नका लागि अर्को सूचना नआउँदासम्म नगरभित्र सुँगुर÷बङ्गुर ओसारपसार नगर्न तथा बजारबाट सङ्कलन गरिएको दाना प्रयोग नगर्न पशु सेवा शाखाले मासु तथा पशु व्यवसायी तथा सुँगुर÷बङ्गुर पाल्ने कृषकहरूलाई अनुरोध गरेको छ । कुनै पनि शङ्कास्पद लक्षण देखिएमा शाखामा जानकारी गराउन वा पशु चिकित्सक तथा प्राविधिकहरूलाई सम्पर्क गर्न नगरपालिकाले आह्वान गरेको छ ।

‘अफ्रिकन स्वाइन फिवर’ का लक्षणहरूमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको ज्वरो अचानक आउने, भोक नलाग्ने र सुस्त हुने, कान, पुच्छ र पेटतिरको छाला रातो, निलो वा बैजनी देखिने, आँखा र नाकबाट पानी वा फिँज निस्कने, श्वास फेर्न गाह्रो हुने, ब्याउने पशुमा गर्भ तुहिने, हिँड्न नसक्ने, अचानक मृत्यु हुने लगायत देखिने डा. कँडेलले बताए ।

यसै वर्षको गत साउनमा सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको थियो । जिल्लाको जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन स्वाइन फिवर’सँग मिलेपछि नमुना परीक्षण गरिएको थियो । मरेका बङ्गुरबाट निकालिएको नमुनालाई केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा लगेर परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको पुष्टि भएको थियो ।

पर्वतमा जिल्ला बाहिरबाट मासुजन्य पदार्थको आयात गर्दा सङ्क्रमण भित्रिन सक्ने जोखिम छ । कुश्माका होटलहरुमा बाहिरबाट मासु आयात गर्नु, मासुका अंश बढी हुनु वा फोहोर भएको खाना सङ्कलन गर्ने भाँडामा पुग्नु र त्यो भाँडाको खाद्यान्न बङ्गुरको दानाको रूपमा फार्मसम्म पुग्दा सङ्क्रमण फैलिन सक्ने जोखिम हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्राविधिक प्रकाश परियार बताउँछन् ।

सङ्क्रमण भएको शङ्का भएको अवस्थामा ‘फार्म’ हरूमा जैविक सुरक्षाका उपायहरू अवलम्बन गरिहाल्नुपर्ने उनको सुझाव छ । यो रोग लागेपछिको उपचार र सङ्क्रमण हुन नदिनको लागि खोप नभएकोले जैविक सुरक्षा नै उत्तम उपाय मानिएको छ । त्यसका लागि रोगी पशुसँग प्रत्यक्ष सम्पर्क, सङ्क्रमित दानापानी तथा होटेल रेस्टुरेन्टबाट फालिएका सङ्क्रमित खानेकुरा र सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा फैलिने भएकोले त्यसबाट जोगिनुपर्ने पशु प्राविधिकहरू बताउँछन् ।

यस्तै सङ्क्रमणबाट जोगिन तथा फैलिन नदिन बङ्गुर पालिएको खोर र ‘फार्म’ परिसरमा नियमित सरसफाइ गरी चुना, ‘ब्लिचिङ पाउडर’, ‘फर्माइलिन’ लगायतका रसायन प्रयोग गरी निःसङक्रमण गर्ने, शङ्का लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने, घरपालुवा सुँगुर बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने, रोग देखा परेको क्षेत्रबाट बङ्गुर प्रजाति त्यसका पाठा पाठी, सङ्क्रमित मासु र दानाको ओसारपसार नगर्ने उपाय अपनाउनुपर्ने उनीहरूको सुझाव छ । सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने, तयारी दानाबाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर मात्र खुवाउने, ‘फार्म’ को मुख्य प्रवेशद्वार तथा खोर बाहिर निःसङ्क्रमणमा प्रयोग हुने रसायन सहितको व्यवस्था गर्न पनि प्राविधिकले सुझाएका छन् ।

गत वर्ष जिल्लामा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण नदेखिएको भए पनि दुई वर्ष अगाडि भने करिब एक सय ६० भन्दा बढी बङ्गुर यही रोगको सङ्क्रमणबाट मरेका थिए । त्यो बेलामा करिब २० लाख बराबरको नोक्सान भएको प्राविधिक परियारले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive