पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजित “दोस्रो गण्डकी लोक तारा – पर्वत जिल्ला अडिसन” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पर्वत जिल्लाभरिका प्रतिभावान् कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो । अडिसनबाट उत्कृष्ट अङ्कसहित शोभा परियार प्रथम स्थान हासिल गर्दै गण्डकी प्रदेशस्तरीय अडिसनका लागि छनोट भएकी छन् । उनलाई कार्यक्रम आयोजक तथा सहभागीहरूले बधाई तथा आगामी प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरेका छन् ।
त्यसै गरी अप्सन विश्वकर्माले दोस्रो तथा सलिना गुरुङले तेस्रो स्थान हासिल गरेका छन् । प्रथम, द्वितीय र तृतीय बनेका कलाकारहरुले प्रोत्साहन पुरस्कारका रूपमा क्रमशः ३ हजार ३ सय ३३, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, अडिसनमा प्रथम बनेकी शोभा परियारले संस्थाको आजीवन सदस्य तथा न्यु अञ्जना डिजिटल मिडिया प्रा.ली.का सञ्चालक अर्जुन पन्तको तर्फबाट एउटा गीतको शब्द, लय र एरेन्ज निःशुल्क पाउने भएकी छिन् । कार्यक्रममा सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरूको प्रतिभा र प्रस्तुतिको मूल्याङ्कन गरिएको थियो ।
आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले सबै कलाकारप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता साङ्गीतिक गतिविधिले लोक तथा दोहोरी गीत क्षेत्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ । कार्यक्रम सफल बनाउन जिल्ला कार्यसमिति, पदाधिकारी तथा सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको प्रतिष्ठान पर्वतका अध्यक्ष सन्तोष सुवेदीले बताए ।




