पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले विज्ञान विषयको अध्ययन गर्न इच्छुक २८ जना विद्यार्थीका लागि वडागत रूपमा छात्रवृत्तिको आह्वान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालका अनुसार विज्ञान विषय अध्ययन गर्न इच्छुक तथा हालै प्रकाशन भएको एस.इ.ई.मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूका लागि “विज्ञान छात्रवृत्ति कार्यक्रम” सञ्चालन गर्न लागिएको हो । विद्यालयले कुश्मा नगरपालिकाभित्रका १४ वटै वडा कार्यालय तथा सामुदायिक माध्यमिक विद्यालयहरूलाई छात्रवृत्तिका लागि योग्य विद्यार्थी सिफारिस गर्न अनुरोध गरेको छ ।
विद्यालयद्वारा जारी सूचनाअनुसार शैक्षिक सत्र २०८३ देखि कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिकाका प्रत्येक वडाबाट एस.इ.ई.मा सर्वोत्कृष्ट जी.पि.ए प्राप्त गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । यसरी कुल २८ जना विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन् ।
विद्यालयले वडा कार्यालयहरूलाई आफ्ना वडाभित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरूबाट उच्चतम जी.पि.ए. प्राप्त गर्ने एक छात्र र एक छात्रालाई सिफारिस गर्न आग्रह गरेको छ ।
त्यस्तै, विद्यालयले जारी गरेको सूचनामा ३.६ भन्दा माथि जी.पि.ए ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा ५० प्रतिशत छुट तथा ३.७ भन्दा माथि जी.पि.ए ल्याउने विद्यार्थीलाई शतप्रतिशत शुल्क छुटको व्यवस्था गरिएको उल्लेख गरिएको छ । विद्यालयका अनुसार यस कार्यक्रमले विज्ञान शिक्षा अध्ययनप्रति विद्यार्थीहरूको आकर्षण बढाउनुका साथै उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।




