पर्वत : पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरूको नियमित अनुगमन अभियान सुरु गरेको छ ।
उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पसल, होटल, मासु पसल तथा अन्य व्यवसायहरूको अनुगमन थालिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । अभियान अन्तर्गत व्यवसाय दर्ता तथा नवीकरणको अवस्था, मूल्य सूचीको व्यवस्था, सरसफाइ, खाद्य पदार्थको गुणस्तर तथा म्याद सकिएका उपभोग्य वस्तुको बिक्री–वितरण भए नभएको विषयमा विशेष निगरानी गरिनेछ ।
अनुगमनका क्रममा कानुनअनुसार व्यवसाय दर्ता तथा नवीकरण नगरेका, मूल्य सूची नराखेका तथा म्याद सकिएका सामग्री बिक्री–वितरण गरेको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै व्यवसायीलाई आफ्नो व्यवसाय समयमै दर्ता तथा नवीकरण गर्न, उपभोक्ताले सहज रूपमा देख्न सक्ने स्थानमा मूल्य सूची राख्न तथा म्याद सकिएका वस्तु बिक्री–वितरण नगर्न अनुरोध गरेको छ ।
साथै उपभोक्ताहरूलाई पनि बजारमा कुनै किसिमको अनियमितता, गुणस्तरहीन सामग्रीको बिक्री वा अन्य समस्या देखिएमा गाउँपालिकामा जानकारी गराउन आग्रह गरिएको छ । गाउँपालिकाले बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षणमा विशेष ध्यान दिइने जनाएको छ ।
जलजला गाउँपालिकाद्वारा बजार अनुगमन अभियान सुरु
जेष्ठ २०, २०८३




