पर्वत : घाँस काट्न जाने क्रममा भिरबाट खसेका पर्वतको कुश्मा नगरपालिका ११ का ठूलीपोखरीका ५५ वर्षिय रामप्रसाद सुवेदीको उद्धार गरी उपचारको लागि पोखरा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार ठूलीपोखरीको पाखाथर घर भएका सुवेदी बुधवार बिहान करिब साढे नौ बजेको समयमा कुश्मा नगरपालिका–१० पिपलटारी स्थित कमेरे गौँडा भिरबाट खसेका थिए। घाँस काट्न जाँदै गरेको अवस्थामा घरबाट करिब दुई किलोमिटर तल पुगेका उनलाई करिब दुई घण्टापछि उद्धार गरिएको हो। भीरबाट खस्दा करिब दुई सय मिटर तल पुगेका सुवेदीलाई वडा प्रहरी कार्यालय ठूलीपोखरीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगिएको थियो।
शरीरका विभिन्न ठाउँमा चोट लागेका उनलाई पर्वत अस्पतालबाट थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ।
भीरबाट लडेकालाई उद्धार गरी उपचार गर्न पोखरा रिफर
साउन १४, २०७८




