पर्वत : नेपाल अंग्रेजी शिक्षक संघ (नेल्टा) पर्वतको आयोजनामा अंग्रेजी भाषाको शिक्षणमा कृत्रिम बुद्धिमत्ता (ए.आई) तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
आइतबार सम्पन्न कार्यशालामा अंग्रेजी शिक्षकको पेशागत विकास तथा कक्षा कोठामा नवीन प्रविधिको प्रभावकारी प्रयोगका विषयमा सहजीकरण गरिएको थियो । कार्यशालामा नेल्टा गण्डकीका सभापति कमलराज लम्सालले अंग्रेजी भाषामा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी पृथ्वीनारायण क्याम्पसका अंग्रेजी भाषा प्राध्यापक डा. नवराज न्यौपानेले पाठ अध्ययनसम्बन्धी विषयमा तथा नेल्टा गण्डकीका सदस्यता सचिव देव शर्माले ‘क्याफ्टेरिया क्लासरुम’ सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यशालाले अंग्रेजी शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका साथै नवीनतम तथा आधुनिक प्रविधिलाई कक्षा कोठामा प्रयोग गर्ने व्यावहारिक सीप प्रदान गर्न सहयोग पुगेको नेल्टा पर्वतले बताएको छ । कार्यशालामा पर्वतका अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो ।
नेल्टा पर्वतका सचिव राजु प्रसाद भुसालको सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता नेल्टा पर्वतका अध्यक्ष सूर्यप्रसाद भुषालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा कुश्मा नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत दिपक सुवेदी सहभागी भएका थिए । कार्यक्रममा नेल्टाका आजीवन सदस्य इन्द्र अधिकारीले धन्यवाद ज्ञापन गरे ।
यसैबीच, गत शनिबार नेल्टा पर्वतको आयोजनामा गण्डकी प्रदेशस्तरीय नियमित घुम्ती बैठकसमेत सम्पन्न भएको जनाइएको छ । उक्त बैठक तथा कार्यशालामार्फत अंग्रेजी शिक्षकहरूको पेशागत विकास, अनुभव आदानप्रदान तथा शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ ।
अंग्रेजी शिक्षकको पेशागत विकासका लागि नेल्टा पर्वतद्वारा एकदिने कार्यशाला
अशोज ५, २०८३




