भदौ ८, २०७८
पर्वत : कास्कीको मादी गाउँपालिका–९ सिप्लिवेशीकी १७ वर्षिया कोपिला परियारको हत्या भएको १३ महिनापछि हत्यारा पत्ता लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार स्याङ्जाको हरिनास गाउँपालिका–६ का ४५ वर्षिय खड्क बहादुर खवासलाई सोमबार पक्राउ गरिएको हो।
कोपिलाको स्थायी घर सिप्लिवेशी भए पनि सोही गाउँपालिकाको वडा नं. १० मकै खोला स्थित मामाको घरमा गएको बेलामा उनको हत्या भएको थियो। उनको शव २०७७ असार २५ मा वडा नं. ११ मुखिएको सेर स्थित पाती घारीमा सडेर किरा परिसकेको अवस्थामा फेला परेको थियो।
घट्न भए लगत्तै कास्की प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै आएको र एक वर्षमा अनुसन्धानलाई सफल पारेको डिएसपी हमालले बताए। राम बहादुर थापा (मोटे) को नाममा समेत चिनिने खवासका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उनले प्रारम्भिक बयानका क्रममा आफू ज्यालादारीमा विद्यालयको काम गर्नको लागि मकै खोलामा पुगेको र कोपिलासँग प्रेम सम्बन्धमा रहेको बताएका छन्। खवासले पहिले नै दुई बिहे गरिसकेको र कोपिलासँगको सम्बन्धमा रहँदा मानसिक तनाव बढेपछि उनको हत्या गरेको पाइएको डिएसपी हमाल बताउँछन्।
‘पहिले नै दुई बिहे गरिसकेको मान्छे रहेछ। कामको सिलसिलामा त्यहाँ पुगेपछि कोपिला र खड्काको बिचमा अफेयर चल्यो। एक त पहिले नै दुई विवाह भएको मान्छे त्यसमा पनि कोपिलासँगको सम्बन्धमा उसलाई थप दबाब भयो। प्रेसरका कारण उसले कोपिलाको हत्या गरेको देखियो।’ उनले भने, ‘किरा परेको अवस्थामा शव फेला परेको थियो। हत्यारा पत्ता लागेको थिएन। तर हामीले सूक्ष्म रूपमा गरिरहेको अनुसन्धानबाट १३ महिनामा सफल अनुसन्धान पूरा गरेका छौँ।’
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा स्याङ्जाकै पुतलीबजार नगरपालिका–४ शिव मन्दिर चोकबाट पक्राउ गरिएका खड्कका विरुद्ध कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
४५ वर्षे पुरुषकी १७ वर्षे प्रेमिका, पहिले नै दुई श्रीमती रहेकोले प्रेमिकाको हत्या
भदौ ८, २०७८
