असोज १, २०७८
पर्वत : यदि तपाईँ विद्युतको उपभोक्ता हुनुहुन्छ, मिटर रिडिङ गरेको ६० दिन पुग्यो तर लागेको महशुल तिर्नुभएको छैन भने तपाईँको घर, उद्योग, फर्म वा विद्युतको प्रयोग भएको ठाउँको लाईन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्तहरुको बिद्युत् नै कटौती गरिदिने अभियान थालेको छ ।
विद्युतीय महसुल तिर्न माटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा विद्युत् नै काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने तीव्रताका साथ भइरहेको पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले बताए । ‘हामीले पाउनुपर्ने रकम कति छ भन्ने बारेमा हिसाब निकाल्ने काम भइरहेको छ । हालै मात्र तीव्रताका साथ यो अभियान सुरु भएको छ । जिल्लाभर नै कडाइका साथ बिद्युत् कटौती गर्दै बाँकी रहेको महसुल उठाउने छौँ’ उनले भने, ‘यो वडाका यति भनेर हामीले राखेका हुँदैनौ, हामीले हाम्रो रिडिङ एरिया बनाएका हुन्छौँ । त्यही एरिया अनुसार बक्यौता रहेकाहरूको खोजी गरेर लाइन काट्ने काम भइरहेको छ ।’
अभियान सुरु गर्दा साथ सदरमुकाम कुश्माबजार एरियाको केही ठाउँमा मात्रै २३ जनाको बिद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन् । बिद्युत् काटिएका २० जनाबाट दुई लाख छ हजार ८० रुपैयाँ असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाई छ । अहिलेसम्म बिद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन् । ती २३ जनामा सरकारी कार्यालय नपरेको बताउँदै उनले एरिया अनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाईमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत बिद्युत् सेवा अवरुद्ध हुन सक्ने बताए ।
सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ । महसुल समयमा नै तिरेमा उपभोक्ताको लागि छुट सुविधा हुँदा समेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्ले बताउँछन् ।
‘तोकिएको समयमा नै महसुल बुझाउनेहरूको लागि छुटको सुविधा समेत रहँदा समेत बक्यौता तिरेर लाइन काटिने अवस्था आउनु भनेको नराम्रो हो । पैसा नतिरेर लाइन काटियो रे भन्दा त्यो संस्थालाई पनि त प्रभाव पर्न सक्छ नि !’ उनले भने, ‘आखिर जुनै हालतमा तिर्नुपर्ने भएपछि तिर्नमा ढिलाइ किन गर्नु ? यदि कसैको बक्यौता रहेको छ भने बिद्युत् काट्ने टोली नपुग्दै कार्यालयमा आएर वा अनलाइनका माध्यमबाट पनि बक्यौता तिर्न हाम्रो अनुरोध छ ।’