काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकि नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तानमा रहेका छन् ।
तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन। महिलाको फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थानमा रहेको छ ।
नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले वरीयताले खेलमा असर नगर्ने बताउछिन् । बलियो टिमलाई हराउन सक्ने टिममा आत्मविश्वास रहेको रेनुकाको भनाइ छ ।
‘हामी खेलका लागि उत्साहित छौँ । हामीले तयारी पूरा गरेका छौँ । दुई महिना अभ्यास गरेका छौँ । मैत्रीपूर्ण खेल खेल्यौं त्यसले धेरै सहयोग गरेको छ,’ कप्तान रेनुका भन्छिन्, ‘टिमको ध्यान कसरि अगाडी बढ्ने र छनोट हुने भन्नेमा छ । वरीयता हेर्दा दुबै टिम हामी भन्दा राम्रो छ । तर, हामीले राम्रो वरीयता भएको टिमलाई हराईसकेका छौँ, बराबरी गरेका छौँ ।’ कप्तान रेनुकाले टिमले राम्रो खेल खेलेका एसियन कपमा छनोट हुने मौका रहेको समेत बताईन् ।
यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस छनोट टिमका लागि चुनौती र अवसर दुबै भएको बताए । उनले दुबै खेलमा टिमले उत्कृष्ट खेल्नेमा विश्वस्त रहेको बताए ।
‘नेपाली महिला फुटबल टिमको लागि यो एउटा अवसर मात्र हैन । आफ्नो खेल र क्षमता देखाउने अवसर पनि हो ।’ प्रशिक्षक ग्यारीले भने, ‘हामी राम्रो खेल प्रर्दशन गर्नेमा विश्वस्त छौं ।’
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त बिहीबार हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।