बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

दिगो विकासको लक्ष्य पूरा गर्नमा कति तत्पर छन स्थानीय तह?

अशोज १३, २०७८

असोज १३, २०७८
पर्वत : आम नागरिक तथा सरोकारवालाहरुले दिगो विकासका लक्ष्य पूरा गर्न स्थानीय सरकारको सक्रियता झनै आवश्यक भएको बताएका छन् । दिगो विकास सप्ताहको अन्तिम दिन मंगलवार कुश्मा नगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने धेरैले देश संघीयतामा गएका कारण राज्यले राखेका उद्धेश्य पूरा गराउने जिम्मेवारी पनि स्थानीय तहमा स्थानान्तरण भएको बताएका छन् ।


‘दिगो विकास लक्ष्यको स्थानीयकरण’ शीर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले दिगो विकासका लक्ष्य पूरा गर्नको लागि तोकिएको सन २०३० सम्मको अवधिमा लक्ष्य पूरा गर्नको लागि स्थानीय तहको कसरत कायमै रहेको बताईन् । त्यसका लागि स्थानीय तहहरु कतिपयले आवश्यक कानुन निर्माण गरेको र कतिपय निर्माणको क्रममा रहेको उनको भनाई छ ।
‘दिगो विकासका लक्ष्य पूरा गर्ने गरी स्थानीय तहहरुले कानुन निर्माणको काम गरेका छन् । कुश्मा नगरपालिकाले पनि यसका लागि आवश्यक कानुन निर्माणको काम पूरा गरेको छ’ लामिछाने भन्छिन्, ‘हामी पहिलो पटक संघियताको अनुभवमा रहेका कारण पनि लक्ष्य जति काम भएन होला, अब बन्ने नयाँ स्थानीय सरकारलाई सजिलो हुने छ ।’ वर्तमान स्थानीय सरकारले अधिकार तय गरेका कारण आगामी जनप्रतिनिधिलाई त्यसको कार्यान्वयनको लागि अवस्था सहज रहेको उनको भनाई छ ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले दिगो विकासका लक्ष्य पूरा गर्नको लागि राष्ट्रिय योजना आयोगले तयार पारेका लक्ष्यमा आधारित भएर प्रदेश र स्थानीय सरकारले पनि आवश्यक काम गरिरहेको उल्लेख गरे । लक्ष्य पूरा गर्नको लागि वार्षिक २० खर्ब २५ अर्व बजेट अनुमान गरिएको बताउँदै उनले स्थानीय तहमा रहेका योजना कतै न कतैबाट दिगो विकासको लक्ष्यसँग जोडिएका जानकारी दिए ।
‘स्थानीय सरकारले सहकारी, स्थानीय बजार व्यवस्थापन, ग्रामिण सडक, कृषि सडक, सिँचाई, शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, भाषा, संस्कृति, बेरोजगारीको तथ्याङ्क संकलन लगायतका काम गरिरहेको छ । यी कामहरु दिगो विकासका लक्ष्यसंग कतै न कतैबाट जोडिएका छन्’ गुरुङले भने, ‘दिगो विकासलाई हामीले सकेसम्म स्थानीयकरणको प्रयास गरिरहेका छौँ । वडामा रहेका स्वास्थ्य संस्थादेखि खेलकुदका गतिबिधि पनि दिगो विकाससँग जोडिन्छन्, कहीँ स्वास्थ्यको आधार त कोही बालबालिकाको सवालमा ।’


अर्को कार्यपत्र प्रस्तुत गरेका शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई) नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले सान २०१६ देखि ३० सम्मका लाष् ि१७ वटा लक्ष्यहरु राखिएको र लक्ष्य ४ मा रहेको ‘सबैका लागि शिक्षा’ कार्यक्रम शिक्षा क्षेत्रको लागि महत्वपूर्ण बुँदा रहेको बताए । ‘१७ वटा लक्ष्यमध्ये पनि लक्ष्य ४ मा रहेको कुरा महत्वपूर्ण छ अहिलेको परिवेशमा । किनभने कोभिड पेन्डामिकका कारण शिक्षा थिल्चिएको अवस्था छ’ उनले भने, ‘सन २०३० भित्रमा सबै ठाउँबाट गरिबी र भोकमरी अन्त्य गर्ने, देश देशबीचको असमानता बिरुद्ध लड्ने लगायतका लक्ष्यहरु समावेश छन् । ती लक्ष्य पूरा गर्न हामी कति तत्पर भयौँ ?, कति काम गरेका छौँ ? आफ्नो मूल्यांकन आफैले गरौँ । कमजोरी भएका भए सुधारेर थप योजना निर्माण गरौँ ।’


कार्यक्रममा बोल्दै एन.सि.ई पर्वतका सदस्य भिम बहादुर नेपालीले रुख कटानको नियमको बारेमा स्थानीय तह र अन्य निकायका बीचमा तालमेल नमिलेका कारण नागरिकले दुःख पाइरहेको बताए । कुनै पनि योजनाबीना गरिएका कामले नागरिकले दुःख पाएमा त्यो दिगो विकासको लक्ष्य भन्दा बाहिर हुने भएकाले यसबारेमा पनि स्थानीय सरकार र अन्य निकाय गम्भीर बन्नुपर्ने उनको भनाई थियो ।


शिवालय माध्यमिक विद्यालय कुश्माका प्राधानाध्यापक भूपेन्द्र चापागाईँले विद्यालयमा अउने विद्यार्थीको आर्थिक अवस्थाको बारेमा ख्याल नगरी योजना निर्माणभ गर्दा बालबालिका र विद्यालय समस्यामा रहेकोले यसका लागि आवश्यक नीतिगत व्यवस्थाको माग गरे । विद्यालयमा हुने न्यूनतम् खर्च समेत सरकारहरुले बेहोर्न नसक्दा विद्यालयहरुले काम गर्न नै नसक्ने आवस्था आएको उनको भनाई छ ।


नागरिक समाज पर्वतका संयोजक मानकुमारी गिरीले अहिले पनि कुश्मा बजारको फोहोर बडागाउँमा रहेको बन क्षेत्रमा फाल्ने गरिएको आरोप लगाउँदै नगरपालिकाले लापरबाही गरिरहेको दावी गरिन् । बनबाट फालिएको फोहोर मोदी हुँदै कालीगण्डकी नदीमा मिसिँदा त्यसले पर्यटन, पर्यावरण सहितका क्षेत्रमा प्रत्यक्ष असर गरिरहेको उनको भनाई थियो ।
उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले नेपाल सरकारले दिगो विकासका लक्ष्यका रुपमा राखेका बुँदाहरुको कार्यान्वयनको लागि नेपाल उद्योग वाणिज्य महासंघले समेत सहकार्य गर्दै आइरहेका कारण पर्वतमा पनि उद्योग वाणिज्य संघ आर्थिक समन्वय वा अन्य हिसावले सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगरपालिकाको सामाजिक विकास शाखाकी अधिकृत डिलकुमारी शर्माले गरेकी थिईन भने स्वागत र कार्यक्रमको उद्धेश्यमाथि एन.सि.ई. नेपाल पर्वतका संयोजक यज्ञप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, वडाध्यक्ष तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive