मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
spot_img

रेडक्रसको यूवा समन्वय परियोजना जलजलाका ५ वडामा लागू हुँदै

संजय रेग्मी
असोज १८, २०७८
पर्वत : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतले अन्तराष्ट्रिय यूवा समन्वय परियोजनाको दोस्रो फेजलाई जलजला गाउँपालिकाका पाँच वटा वडाहरुमा लागू गर्ने भएको छ।
कार्यक्रम लागू हुनै लाग्दा सोमबार जलजला गाउँपालिकाको मिलनचोकमा परिचयात्मक कार्यक्रमको आयोजना गरी कार्यक्रम आयोजनाका चरण, उद्धेश्य, कार्यान्वयन, प्रभाव लगायतका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रेडक्रस सामाजिक संस्था भएका कारण यसले सामाजिक समृद्धिका लागि स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको बताए। जलजलाको वडा नं. २, ३, ४, ७ र ८ मा परियोजना लागू हुन लागेको बताउँदै उनले यसमा सघाउन विद्यार्थी, विद्यालय, समुदाय र स्थानीय सरकारलाई अनुरोध गरे।
यो परियोजनामा रहेर विद्यालयमा रहेका शौचालय, धारा, आदि मर्मतको अभावमा प्रयोगबिहीन अवस्थामा रहेको भएमा मर्मत गरेर सञ्चालनमा ल्याइने, विद्यालयमा स्वास्थ्य तथा सरसफाईका आचारसंहिताहरु पूर्ण कार्यान्वयन गर्ने लगायतका कामहरु गरिने बताए। ‘विद्यालय जाने बालबालिका, उनीहरुको परिवार र लक्षित समुदायको स्वास्थ्य अवस्था माथि उकास्ने यो कार्यक्रमको लक्ष्य हो’ उनले भने, ‘विद्यालयको माध्यमबाट समुदायमा सचेतना प्रशारण गर्ने उद्धेश्य राखेर नै यो परियोजना लागू हुन लागेको हो। यसको अवधि तीन वर्षका लागि तोकिएको छ।’
कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाकी उपप्रमुख सीमा गर्वुजा पुनले रेडक्रसले आफ्नो सरसफाई तथा सचेतना अभिायनको परियोजना लागू गर्न जलजला गाउँपालिकालाई नै रोजेकोमा खुसी व्यक्त गर्दै त्यसमा सहयोग तथा सहकार्य गर्न आफूहरु तयार रहेको बताईन्। रेडक्रसले गरिरहेका कामहरु प्रशंसनीय रहेको बताउँदै उनले तीन वर्षे अवधिमा योजना सफल हुने विश्वास व्यक्त गरिन्।
यस्तै गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले रेडक्रसले लागू गर्न लागेको परियोजनाको अपनत्व सबैले लिनुपर्ने बताउँदै सबैले सहयोग गर्दै मापदण्ड पालना गरेमा नागरिकको स्वास्थ्य अवस्था माथि उठ्ने बताए। सैद्धान्तिक परिवर्तनले कुनै अर्थ नराख्ने भएका कारण समुदायलाई स्वस्थ राख्ने हो भने व्यवहारिक परिवर्तन सम्भव रहेको उनको भनाई थियो।
परियोजनाका फोकल पर्सन प्रेमप्रकाश के.सी.ले परियोजना गण्डकी प्रदेशका दुई जिल्ला स्याङ्जा र पर्वतमा मात्रै लागू भएको जानकारी दिँदै तीन वर्षको लागि एक करोड १४ लाख ६१ हजार रुपैयाँ बजेट खर्च हुने बताए। पाँच वटा वडाका सामुदायिक र संस्थागत गरेर कुल २५ वटा विद्यालयमा कार्यक्रम लागू हुने जानकारी दिए। ती पाँच वडामा करिब १४ हजार दुई सय ९४ जनसंख्या रहेकोले त्यही जनसंख्या नै आफ्नो लक्षित समूह भएको उनको भनाई थियो।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive