असोज २९, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शुक्रवार भएको जिप दुर्घटनामा परी आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दिउसो करिब दुई बजेको समयमा ग १ ज ६९२६ नम्बरको जिप दुर्लुङबाट कुश्मातर्फ झर्दै गरेको अवस्थामा दुर्घटनामा परेको हो।
घाइते भएकाहरूमा कुश्मा नगरपालिका–७ का खरेहाका २२ वर्षिय गणेश सिलवाल, १९ वर्षिय खुसीमान रत्न, सोही उमेरका शिव पोख्रेल, वडा नं. ३ दुर्लुङकी २८ वर्षिया शकुन्तला सुवेदी, ३४ वर्षिया सूचना सुवेदी, २० वर्षिय अनिल पौडेल, ५१ वर्षिया कृष्ण कुमारी पौडेल र फलेवास नगरपालिका–४ का २२ वर्षिय कृष्ण शर्मा सापकोटा रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमनारायण श्रेष्ठ का अनुसार घाइतेमध्ये अधिकांशको हात, खुट्टा, कान, अनुहार, छाती, टाउको लगायतका ठाउँमा चोट लागेको छ। सबै जनाको अवस्था सामान्य रहेको छ भने ती मध्येका दुई जना पर्वत अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी रहेका छ जनालाई आन्तरिक चोट लागेको हुन सक्ने भएकाले सि.टी स्क्यानको लागि पोखरा जान सुझाव दिइएको छ।
ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले आफू घटनास्थलमा पुगेर सबै कुराको अवलोकन गरेको बताउँदै दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा ओरालोमा ब्रेक फेल भएको भनी चालकले बताएको जानकारी दिए। जिप गलत साइडतर्फको भित्तामा धसारिएको पनि उनको भनाई छ।
पर्वतको दुर्लुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते (नाम सहित)
अशोज २९, २०७८





