शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

अपाङ्गता भएका दम्पतीलाई बुढेसकालमा नागरिकता

कार्तिक २, २०७८

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका ६५ वर्षीय देउनारायण पाध्या र उनकी श्रीमती ५६ वर्षीया लाटी उपाध्यायले बुढेसकालमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

आफन्त कोही नभएका उनीहरू दुवैजना बोलाई बुढेसकालमा भए पनि नागरिकता दिलाउन सकिएको वडाध्यक्ष हरिविकास जिसीले बताए। देउनारायणलाई संरक्षण गर्दै आएकाहरूले २०३४ सालमा नागरिकताको प्रमाणपत्र निकालिए पनि उनले त्यसको संरक्षण गर्न सकेनन्।

प्रमाणपत्र पानीमा भिज्यो, सानो एउटा टुक्रा मात्रै बाँच्यो। प्रमाणपत्र नहुँदा हुने समस्याका बारेमा थाहा नपाएका उपाध्याय न त आफैँ प्रशासनमा आएर त्यसको खोजी गर्न सक्थे न त अरूलाई नै बताउन। आफ्नै नागरिकताको प्रमाणपत्र साथमा नभएका उनले श्रीमतीको प्रमाणपत्र निकालिदिन सक्ने त कुरै थिएन।

वडाध्यक्ष जिसीका अनुसार लाटी र देउनारायणबीच २०४४ सालमा विवाह भए पनि उनको माइती कहाँ र नातेदार को हुन्? भन्ने थाहा थिएन। तत्कालीन समयमा नागरिकताको प्रमाणपत्र निकाल्न पहल नभएका कारण माइतीबारे थाहा भएन।

उनीहरूको अवस्था दयनीय रहेको, अपाङ्गता समेत रहेकाले सामाजिक सुरक्षाभत्ताको पहलका निम्ति कागजी प्रक्रिया पूरा गर्ने क्रममा मिहिनेतका साथ प्रमाणपत्र निकाल्न सकिएको हो।

‘३४ सालमा देउनारायणको नागरिकता निकालेको थाहा पाएपछि मिहिनेतका साथ प्रमाण खोजेर उनलाई प्रतिलिपि र श्रीमतीलाई पहिलोपटक नागरिकताको प्रमाणपत्र दिलाउन सफल भएका छौँ’‚ उनले भने, ‘उनीहरूको अपाङ्गता पुष्टिका लागि पर्वत अस्पतालमा परीक्षण भएको छ। सबै प्रमाण पालिकामा पेस गरेपछि ‘ख’ वर्गको अपाङ्गता रहेको व्यक्तिको रूपमा सामाजिक सुरक्षा भत्ता दिन पहल भइरहेको छ।’

समस्यामा रहेको यो दम्पतीका आफन्त पत्ता लगाई नागरिकताको प्रमाणपत्र निकाल्न स्थानीय विवेक हमालले मिहिनेत गरेका थिए। वर्षौँदेखि नै उनकै जिजुबुबाहरूको संरक्षणमा देउनारायण दम्पती रहँदै आएको थियो।

अपाङ्गता भएका व्यक्तिका रूपमा उनीहरू रहे पनि नागरिकताको प्रमाणपत्रबिना राज्यबाट पाउने सुविधाबाट उनीहरू वञ्चित रहेकाले बुढेसकालको सहारा दिन भए पनि प्रमाणको खोजी गरिएको हमालले बताए।

थाहाखबरबाट

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive