पर्वत/अल्पायुमै गुमाउन पुगेकी छोरीको स्मृतिमा पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङको एक परिवारले बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
कुस्मा नगरपालिका १ पाङका पिताम्बर रिजालको परिवारले आफ्नी दिवंगद छोरी स्वर्गिय रिता रिजालको स्मृतिमा स्थानिय पाङधैरेनी माध्यमिक बिद्यालयमा अक्षयकोष स्थापना गरेका हुन ।
रिजाल परिवारले बिद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । १९ बर्षको कलिलो उमेरमा नै एक मात्र छोरी गुमाउन परेको शोकमा रहेको रिजाल परिवारले गाउँका गरिब, जेहेन्दार बिद्यार्थीहरुलाई अध्ययन गर्न सहयोग पुगोस भनेर बिद्यालयमा अक्षयकोष स्थापना गरेको पिताम्बर रिजालले बताउनुभयो । ‘हामीले कलिलै उमेरमा एउटी छोरी गुमायौ तर धेरै छोराछोरीले शिक्षा आर्जन गर्न सहयोग पुगोस भनेर छोरीको पुण्य तिथि पारेर बिद्यालयमा सहयोग गरेका हौ।’ उहाँले भन्नुभयो ‘अक्षयकोषबाट आर्थिक अभाबमा पठनपाठन गर्न सहज भैरहेका जेहेन्दार तथा मेहनती बिद्यार्थी लाभान्वित हुनेछन भन्ने बिश्वास लिएका छौ।’ स्वर्गिय रिता रिजालको उच्च ज्वरोका कारण २०६९ कार्तिक ६ गते १९ बर्षको निधन भएको थियो । समाजसेवी पिताम्बर रिजालका दुई छोरा हुनुहुन्छ ।
गाउँघरमा सबै बालबालिकाहरु निजी बिद्यालयमा जान नसक्ने र सामुदायिक बिद्यालयमा शैक्षिक सुधार नगरे सम्म बिद्यालय शिक्षा राम्रो नहुने भएकाले धेरै परिवारले पाङ धैरेनी माबिको शैक्षिक सुधारको अभियानलाई सहयोग गर्दै आउनुभएको छ । पाङ धैरेनी माबिले बिगत एक बर्ष देखि बिबाह, ब्रतबन्ध, चौरासी पुजा, पास्नी र अन्य पारिवारीक तथा सामाजिक कामका क्रममा गरिएको सहयोगबाट अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषमा अहिले सम्म ८ लाख भन्दा बढी रकम संकलन भैसकेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त ब्याजबाट बिद्यालयले निजी स्रोतमा शिक्षक राखेर अंग्रेजी तथा मन्टेश्वरी माध्यममबाट पठनपाठन गरिरहेको छ । अक्षयकोषलाई कम्तीमा २० लाख पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
‘बाबुनानीहरुले सुलभ र गुणस्तरीय शिक्षा पाउन भन्ने उद्देश्यले शैक्षिक तथा भौतिक सुधारका लागि दिनरात नभनि काम गरिरहेका छौ, त्यसलाई सबैले हौसला प्रदान गरिरहनुभएको छ ।’ अध्यक्ष रिजालले भन्नुभयो ‘निजी स्रोतमा शिक्षक नराखि भएको छैन, त्यसका लागि अझै धेरै सहयोगी मनको खाँचो छ।’ बिद्यालयमा भौतिक पुर्वाधार र शैक्षिक सुधारका लागि रिजालको नेतृत्वमा रहेको ब्यबस्थापन समितिले जिल्लामै नमुना काम समेत गरिरहेको छ । बिद्यालयले शैक्षिक सुधार थालेपछि निजी बिद्यालयमा गएका बिद्यार्थी फर्कन थालेका छन भने अहिले भवन, कम्प्युटर ल्याब तथा बिज्ञान प्रयोगशाला, खेलमैदान, जस्ता पुर्वाधार निर्माणका काम भैरहेका छन । पछिल्ला दिनमा यो बिद्यालयले कुस्मा नगरपालिकामा अग्रणी रुपमा शैक्षिक सुधार गरिरहेको अभिभावकहरुले बताउँदै आएका छन ।