कात्तिक १९, २०७८
पर्वत : पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले जलजला गाउँपालिका मगर जातीको संस्कृति, परम्परा र मौलिक चलनको रक्षाको लागि हर बखत तयार रहेको बताएका छन्।
हिन्दु नेपाली उज्यालो चाड दीपावलीको अवसरमा पुन क्लब पर्वतको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको आदिवासीको रुपमा रहेको मगर जातिका कला र संस्कृति नेपालका लागि गौरवका विषय भएको भन्दै उनले जलजला गाउँपालिकाले अहिले पनि त्यसका लागि विभिन्न कामहरु गरिरहेको उल्लेख गरे।
‘जलजला गाउँपालिकाले आफ्नो पालिकाभित्र मात्रै भएका कुराको संरक्षण होईन की सकेसम्म समग्र जिल्लाको लागि पनि काम गरिरहेको छ। त्यसमा पनि पर्वतको उत्तरी क्षेत्रमा बिशेषतः मगर जातीको बसोबास रहेको छ,’ उनले भने, ‘जलजलामा रहेका मगर जातिको मात्रै होईन जिल्लाभरमा रहेका मगर जातिको लागि पालिका र म व्यक्तिगत रुपमा पनि हरेक सहयोग गर्न तयार छु। अहिलेसम्म गरिएका कामहरु तपाईँहरुले देख्नुभएकै छ।’ नेपालको ईतिहास बोकेको मगर जातिलाई इमान्दारको प्रतिकको रुपमा लिने गरेको बताउँदै उनले यसैलाई कायम गर्नु तर अधिकार खोजेर देशको मूल प्रवाहीकरणमा आउनुपर्ने आजको आवश्यकता रहेको अध्यक्ष मल्लको भनाई छ।
कार्यक्रममा शुभकामना मन्त्ब्य राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आदिवासी, जनजाती, विपन्न, सिमान्तकृत, अल्पसंख्यक लगायतका नागरिकको समस्या समाधानको लागि आफूहरु तयार रहेको बताउँदै जलजलाले गरिरहेका कामहरु अन्य स्थानीय तहमा पनि सिको गर्न लायकको रहेको बताए। जलजला गाउँपालिकाले सम्पन्न गर्नुपर्ने हरेक काम गर्नको लागि गाउँपालिकाको समग्र टीमको बीचमा सहकार्य रहेका कारण जलजला नेपालकै नमूना कामहरु भएको उनको भनाई छ।
‘मगर समुदायको संस्कृति रक्षा र प्रबद्र्धन गर्नको लागि हामीले गरिरहेका कामहरु त तपाईँहरुको माझमा जगजाहेर नै छ। त्यो बाहेक कृषि, प्रविधि, स्वास्थ्य, शिक्षा लगायतमा गरेका कामहरु पनि थाहा पाउनुभएकै छ,’ क्षेत्रीले भने, ‘भूमिकर, सम्पत्तिकर, शिक्षकहरुको दरबन्दी मिलन, गाईँभैँसीलाई दिइने भत्ताले पनि धेरैलाई हौसाएको छ।’ अर्को प्रसंगमा बोल्दै उनले ठाउँको समुचित विकास गर्ने हो भने कुशल र असल नेतृत्वको आवश्यकता रहेको बताए। नागरिकले हाम्रोलाई भन्दा राम्रो मान्छेलाई साथ दिन सकेमा मात्र नेपाली नागरिकले चाहेको जस्तो सम्बृद्धि सम्भव भएको क्षेत्रीको भनाई छ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पत्रकार महासंघ पर्वतका निवर्तमान अध्यक्ष छविलाल तिवारीले पर्वतमा रहँदै आएका मगर र अन्य जातीको संयुक्त बसोबासबाट सामुदायिक तालमेलको पाठ सिक्न सकिने बताए। मगर समुदायमा रहेका मौलिक परम्परा र संस्कृतिहरु विशुद्ध मौलिक रहेकाले पनि ती कलाको बारेमा थप खोजी र प्रबद्र्धन आवश्क रहेको उल्लेख गरे। नागरिकले खोजेको जस्तो संघियताको अनुभूति अझै पनि हुन नसकेको बताउँदै तिवारीले अब पनि राजनीतिक शक्तिहरुलाई नागरिकले सचेत नबनाउने हो भने नेपाल सधैँभर राजनीतिक अस्थिरको जञ्जिरमा फस्ने उनको भनाई छ।
यसैगरी, नेपाली काँग्रेस महासमिति सदस्य राधा कुमारी कुँवर क्षेत्रीले मगर जातीको मौलिक पहिचान र उनीहरुको संस्कृतिबाट आफू प्रभावित रहेको बताउँदै मगर जातिका संस्कार र संस्कृति देशका गहना भएको बताईन्। नेपाली काँग्रेस संस्कृति रक्षाको पक्षमा रहेर सदैव काम गरिरहेको बताउँदै क्षेत्रीले नेपाल भित्रको विविधता नै नेपालको गहना भएको उल्लेख गरिन्। नेपाली चाडपर्वले सबै धर्म, सम्प्रादय, भाषा, लिङ्ग, भौगोलिक क्षेत्र लगायतलाई एउटै सूत्रमा बाँडेका कारण पनि नेपाल साँस्कृतिक हिसावले समेत विश्वकै धनी देश भएको क्षेत्रीको भनाई छ।
यस्तै नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओम प्रसाद घायलले इमान्दारीताको प्रतिकको रुपमा रहेको नेपालको मगर समुदायले हरेक परिवर्तनको बेलामा देखाउँदै आएको न्यायपूर्ण उपस्थितिले देशमा भएका विभिन्न आन्दोलनलाई मूर्त रुप दिन सकेको उल्लेख गरे। नेपाली नागरिकले चाहेको जस्तो परिवर्तन भएको भए पनि सोचेको जस्तो समतामूलक समाज र सुबिधायुक्त वातावरणको सिर्जना नभएकाले अब आउने दिनहरुमा पनि विवेक प्रयोग गर्न अनुरोध गरे।
कार्यक्रममा मोदी गाउँपालिका–४ का वडाध्यक्ष मन कुमार पुन, काँग्रेस नेता यूवराज अर्मजा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य कुल बहादुर पुन, हिमाल पुन आमा समूहकी सचिव सलिना पुन, लगायतले पनि बोलेका थिए।
सोही अवसरमा जलजला गाउँपालिकाको तर्फबाट मगर संग्राहलय बनाउने अभियानका लागि लगाईको ऐतिहासिक मगर महोत्सवको अवसरमा घोषणा गरिएको पाँच लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरिएको थियो। मगर संग्राहलय निर्माण गर्नु जिल्लाकै लागि गहनाको कुरा भएकाले जलजला गाउँपालिकाले मगर महोत्सवमा सह प्रायोजकको भूमिका निर्वाह गरेको थियो। चेक हस्तान्तरण गर्दै अध्यक्ष मल्ल र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले मगर संग्राहलय निर्माणको अभियानमा अब पनि आफूहरु जुट्ने बताउँदै संग्राहलयले मगर जाती मात्र नभई समग्र पर्वतको चिनारी समेत बन्ने उल्लेख गरे।
पुन क्लबका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लाल बहादुर पुर्जा मगरले गरेका थिए। क्लबकी सचिव निरमाया पुन पाईजाको स्वागतसँगै कार्यक्रम सुरु भएको थियो। सो अवसरमा मगर जातीको पुख्र्यौली नृत्यको रुपमा रहेको सोरठी नृत्य समेत प्रदर्शन गरिएको थियो।