सरिता पौडेल
मङ्सिर २७, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा विद्यालहरुको लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यशाला सुरु भएको छ ।
नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यशालामा नगरपालिकाभित्र रहेका आधारभूत तह अन्तर्गत प्राथमिक विद्यालयमा कार्यरत कर्मचारी, कम्प्युटर शिक्षक तथा प्रधानाध्यापकहरु गरी करिब ४० जनाको सहभागिता रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा शिक्षा विभागले तयार पारेको सप्mटवेयरमाशिक्षक तथा विद्यार्थीहरुको व्यक्तिगत विवरणहरु, विद्यालयका भौतिक विवरणहरु, आर्थिक कारोबार लगायतका तथ्याङ्कहरु भर्ने तरीका, सूचना व्यवस्थापनका पक्ष तथा सूचना अपलोड नगर्दा विद्यालयलाई पर्न सक्ने असर लगायतको बारेमा छलफल गर्ने तथा तथ्याङ्कलाई एकीकृत रुपमा व्यवस्थापन गर्ने तरीकाको बारेमा जानकारी दिईने नगर शिक्षा शाखाले जानकारी दिएको छ ।
कार्यशाला सुरुवात गर्दै कार्यक्रमका प्रशिक्षक तथा नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले हरेक क्षेत्रका तथ्याङ्कहरु डिजिटल रुपमा राख्न थालिएको अवस्थामा विद्यालयले प्रयोग गर्ने इमिस सप्mटवेयर पनि महत्वपूर्ण सामग्री भएको बताए । कागजी तरीकाले काम गर्दै धेरै त्रुटीहरु हुने गरेकोमा डिजिटल प्रणालीबाट काम गर्दा त्रुटीमा धेरै न्यनूीकरण भएको उनको भनाई छ । पछिल्ला दुई वर्षमा कोरोना प्रभावका कारण सोचेजति काम गर्न नसकेपनि प्रबिधिका माध्यमबाट गरिएका केही प्रयासहरु महत्वपूर्ण रहेको अधिकृत सुवेदीको भनाई छ । अहिलेको समयले डिजिटल प्रबिधिको माग गरिरहेको बताउँदै कोरोना महामारी लगायतको संकटको बेलामा प्रबिधिको प्रयोगले शैक्षिक क्षति कम गर्न सहज हुने सुवेदीले बताए । समस्यामा परेको बेलामा स्रोत र साधनको अभाव भएको कारण देखाउँदै जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै उनले बलियो स्रोत भनेकै मानव स्रोत भएकाले हामील आफैले सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा नगर शिक्षा अधिकृत सुवेदी र शिक्षक संजय रेग्मीले सहजीकरण गर्दै छन् ।
नगर शिक्षा शाखाको आयोजनामा गत मङ्सिर २१ र २२ गते यस्तै खालको अभिमुखीकरण कार्यक्रम आयोजना गरी माध्यमिक तहका विद्यालयको लागि सहजीकरण गरिएको थियो ।






