मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

विवाहको खर्च कटाएर विद्यालयलाई ५० हजार सहयोग

मंसिर २८, २०७८

पर्वत : विवाह होस् वा जन्मोत्सवको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रम तडकभडक गरी मनाउने परम्परा नेपालीमा चलिसकेको छ।

यही समाजमा यो परम्परा भन्दा फरक मान्छे पनि छन् जसले फजुल खर्च कटाएर सामाजिक सेवाको काममा केही न केही योगदान गरेका हुन्छन्।

यसैका उदाहरण हुन्‚ पर्वतको कुश्मा नगरपालिका–१ पाङका रामचन्द्र रिजाल। पाङको टार निवासी चण्डीप्रसाद रिजालका छोरा रामचन्द्रले आफ्नो छोरा शालिग्राम रिजालको वैवाहिक कार्यक्रममा हुने फजुल खर्च कटाई स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयको शैक्षिक उन्नतिका लागि ५० हजार एक सय ५१ रुपैयाँ प्रदान गरेका हुन्।

यसअघि पनि उनले छोरा वसुनन्दन रिजालको व्रतबन्धको अवसरमा ५० हजार र आफ्नै जन्मदिनको अवसरमा पाँच हजार गरी ५५ हजार रुपैयाँ सोही विद्यालयलाई प्रदान गरिसकेका छन्।

आर्थिक समस्याका कारण गाउँकै सामुदायिक विद्यालयले शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको देखेपछि अनावश्यक खर्च कटौती गरी सहयोग गरेको रामचन्द्रले बताए।

‘पहिले पहिले त यस्तो तडकभडक गर्दै धेरै खर्च गरेर बिहे गर्ने चलन थिएन, जन्मदिनमा पनि उस्तै खर्च चलन अहिले बढेको छ। हाम्रो धर्मले पनि कमाएको केही पैसा दान गरेमा पुण्य प्राप्ति हुन्छ भनेको छ’, उनले भने, ‘गाउँकै विद्यालय हो, यहाँ गरेको सहयोगले हाम्रै छोरानातिको सिकाइ राम्रो हुन्छ। सामाजिक काम गर्दा आनन्द आउँछ, ढुक्कको निद्रा लाग्छ।’

सहयोग रकम बुझ्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष स्वस्थानी रिजालले स्थानीय विद्यालयलाई स्थानीयले नै सहयोग गर्ने र त्यसमा अपनत्व भएको महसुस गर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कियो भनेर चिन्ता मानेर बस्नुपर्ने अवस्था अन्त्य हुने बताइन्।

वैवाहिक समारोहमा हुने खर्च कटाएर विद्यालयमा गरिएको सहयोगप्रति आभार प्रकट गर्दै उनले अनावश्यक रूपमा गरिने खर्चलाई सामाजिक काममा लगाउने हो भने त्यसले दीर्घकालीन उपलब्धि हासिल गर्ने उनको भनाइ छ।

‘अहिले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्कियो भनेर चिन्ता मानेर बसिरहनु परेको छ तर हामी हाम्रै समुदायमा रहेको विद्यालयलाई बेवास्ता गरिरहेका छौँ। सबैले ध्यान दिन सकेमा शैक्षिक उपलब्धि राम्रो हुने थियो’, उनले भने, ‘त्यसमा पनि लाखौँ विद्यार्थीको भविष्य निर्माणको पवित्र मन्दिर विद्यालयमा गरेको सहयोगले विशेष महत्त्व राख्छ। समाजका अन्य सबैलाई पनि यस्तै खालका काम गर्न मेरो अनुरोध छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive