बुधबार, अशोज १६, २०८१
Wednesday, October 2, 2024

पोखरा : निःशुल्क स्वास्थ्य शिविरमा झन्डै पाँच सयको स्वास्थ्य परीक्षण

मङ्सिर २८, २०७८
पर्वत : कास्कीको पोखरा महानगरपालिका–२० मौजामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
पोखरा महानगरपालिका–२० र विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था (नेलम्बो) नेपाल पोखरा महानगरपालिका–४ गैह्रापाटनको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको वडाध्यक्ष सिम बहादुर गुरुङले बताए। पोखरा महानगरपालिकाको साबिकको भलाम र मौजा गाविसका स्थानीयलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको र आफूहरूको लक्ष्य अनुसार स्वास्थ्य शिविर सम्पन्न भएको उनको भनाई छ।
दुई दिन सम्म आयोजना भएको स्वास्थ्य शिविरमा नौ सय ७० वटा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। शिविरमा दुई सय ९६ जनाले सामान्य जाँच गराएका थिए भने दुई सय जनाले हाड जोर्नी सम्बन्धी उपचार गराएका छन्। यस्तै एक सय ३३ जनाले दन्त परीक्षण, ७५ जनाले नाक, कान तथा घाँटी सम्बन्धी परीक्षण, ५७ जना महिलाले महिला रोग, ५३ जनाले छालाको परीक्षण, ४७ जनाले भिडियो एक्स–रे, ३४ जनाले मुटुको इसिजी, ६८ जनाले रगत तथा पिसाबको परीक्षण र सात जनाले युरिलोजी सम्बन्धी परीक्षण गराएका नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीम प्रसाद भण्डारीले बताए।
शिविरमा सहभागी भएका मध्ये १४ जनामा जटिल प्रकारका समस्या देखिएकाले उनीहरूलाई थप उपचारको लागि पोखराका विभिन्न अस्पतालहरूमा व्यवस्था मिलाइएको छ।
शिविरमा वरिष्ठ जनरल सर्जन तथा युरोलोजिष्ट डाक्टर अनुप चापागाईँ, डाक्टर अनीश भुसाल, डाक्टर बुनु गौडेल, डाक्टर प्रकाश कार्की, डाक्टर सिजन मरासिनी र डाक्टर अङ्कुर केसी लगायतले बिरामीको परीक्षण गरेका थिए। आगामी दिनमा पनि नेलम्बो नेपाल सँग मिलेर स्वास्थ्य शिविर सँगै वडा भित्र विपन्न समुदाय र जैविक विविधताको क्षेत्रमा समेत काम गर्न आफूहरू तयार रहेको वडाध्यक्ष गुरुङको भनाई छ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले शिविर सँगै उक्त अवसरमा कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गरी मौजा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर समेत प्रदान गरिएको बताए।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive