पुस २१, २०७८
पर्वत : नेकपा एमालेको यही पुस २३ गते हुन लागिरहेको नवौँ जिल्ला अधिवेशनले राजनैतिक सरगर्मी फेरि बढेको छ । हालै मात्रै काँग्रेस र माओवादीको अधिवेशनले राजनीतिमय बनेको जिल्ला पुन एमाले अधिवेशनले तात्दै छ ।
अधिवेशनको लागि जिल्लाका सातै वटा स्थानीय तहबाट प्रतिनिधि छनोटको काम सकिएको नेकपा एमाले पर्वतले बताएको छ । अधिवेशनको तयारी र हालसम्मको प्रगतिको बारेमा जानकारी दिन गत आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमाले पर्वतका कार्यवाहक अध्यक्ष भक्त कुँवरले पुस १७ गते सबै स्थानीय तहमा प्रतिनिधि चयनको काम पूरा भएको बताए । उनका अनुसार जिल्लामा एमालेको सक्रिय सदस्यता लिएकाहरूको सङ्ख्या झन्डै सात हजार रहेकोमा उनीहरूबाट चार सय १६ जना प्रतिनिधिहरू छनोट गरिएको हो । जसमा आयोजक एक सय चार जना, दलितबाट ६७ जना, महिलाबाट ७३, जना, खुल्लाबाट एक सय ५२ जना रहेका छन् । यी तीन सय ९६ जनाको पाँच प्रतिशत अर्थात् २० जना भने मनोनीत हुने छन्। यसको टुङ्गो लागिसकेको छैन ।
यी प्रतिनिधिहरूले ९० सदस्यीय जिल्ला कार्यसमिति अन्तर्गत एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र दुई जना उप सचिव चयन गर्नको लागि मतदान गर्ने छन् । तर अहिलेसम्मको अवस्थामा मतदानको बारेमा नसोचिएको सर्वसम्मतिबाट नै पदाधिकारी तथा सदस्यहरूको टुङ्गो लगाउने गरी कसरत भइरहेको एमालेका केन्द्रीय सदस्य तथा सांसद पदम गिरी बताउँछन् । ‘एकताको सन्देश दिने गरी पर्वतको अधिवेशन ऐतिहासिक रूपमा गर्न लागेका छौँ । हामीबिच कुनै पनि तीतो मैलो रहेको छैन,’ उनले भने, ‘यदि आकंक्षीबीचको कुरा नमिलेर चुनावी प्रक्रियामा नै जानुपरेको अवस्थामा पनि स्वस्थ सम्बन्धका साथ स्वस्थ प्रतिस्पर्धा हुने छ ।’
एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँले नवौँ महाधिवेशनमा एमाले पर्वतमा कुनै गुट उपगुट नरहेको कारण अधिवेशन स्वस्थ रहने तथा एमाले गुट मात्रै कायम रहने बताइन् । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सहित जनवर्गीय सङ्गठन, अल्पसङ्ख्यक, अपाङ्गता भएका लगायतबाट पनि प्रतिनिधि छनोट गरिएको चापागाईँ बताउँछिन् । ‘चितवन महाधिवेशन पनि देख्नुभयो, हामीहरूबिचमा कुनै पनि तिक्तता छैनन् । हामी सबै एमाले हौँ । एमालेमा कुनै गुट छैन एमाले गुट मात्रै छ,’ उनले भनिन्, ‘सबै क्षेत्रबाट समेटेर प्रतिनिधिहरू चयन गरिएको छ । सकेसम्म सर्वसम्मतिमा नै जिल्ला कार्यसमिति चयन गर्ने प्रयासमा छौँ । चुनावै गर्न परे पनि निकै स्वस्थ तरीकाले हुने छ ।’
एमाले जिल्ला अधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक जीवन विक्रम उचैका अनुसार जिल्ला अधिवेशनमा झन्डै २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस अगाडिको अधिवेशन सम्पन्न गर्नका लागि त्यो बेलामा नै ११ लाख खर्च भएकोले यस पटक महँगीको अवस्थाका कारण २१ लाखसम्म खर्च हुने अनुमान गरिएको उनको भनाई छ । कार्यवाहक अध्यक्ष भक्त कुँवरले पनि २१ लाख जति खर्चको अनुमान गरिएको प्रतिनिधिहरूलाई सुखका साथ स्तरीय ठाउँमा राख्न लागिएका कारण पनि खर्च बढ्ने कुँवरले बताए । ‘यस्तो जाडोको बेला छ, प्रतिनिधिहरूलाई सामान्य ठाउँमा राख्दा पनि चिसोले समस्या पार्न सक्ने भएकाले कुश्मामा रहेका अलि स्तरीय होटलहरुमा खाने र बस्ने प्रबन्ध मिलाएका छौँ,’ उनले भने, ‘चुनावी कार्ड छाप्नेदेखि प्रतिनिधिलाई झोला पनि वितरण गर्न लागिएका कारण खर्च बढ्ने भएको हो ।’
एमालेका अनुसार मुख्य आर्थिक स्रोतका रूपमा जनप्रतिनिधिले गर्ने सहयोग, उम्मेदवारले बेहोर्ने आर्थिक दायित्व र प्रतिनिधिहरूलाई तोकिएको शुल्कबाट झन्डै १९ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ । जसमा जिल्ला कार्यसमिति सदस्यलाई दुई हजार, पदाधिकारीलाई १० हजार, जिल्ला कमिटी सचिवालय सदस्यलाई पाँच हजार, जनप्रतिनिधि तथा वडाध्यक्षहरूलाई १५ हजार, प्रतिनिधिलाई १५ सय, केन्द्रीय सदस्यलाई १५ हजार, प्रदेश सदस्यहरूलाई पाँच हजार रुपैयाँ सहयोग गर्न भनिएको छ ।
सोही अवसरमा नवौँ अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको छ । लोगोमा पर्वतको पर्यटनलाई प्रवर्द्धन गर्ने गरी जिप लाइन र बन्जी जम्पको सङ्केत प्रयोग गरिएको छ ।
एमाले पर्वत : प्रतिनिधि छनोटसँगै चुनावी सरगर्मी बढ्दो, २१ लाख खर्च
