शनि, असार ७, २०८२
Sat, June 21, 2025

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’

माघ १४, २०७८

पर्वत : पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ।

यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए।

११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छुटेका भए ती बाहेक ८४ जना एकल पुरुष रहेको र उनीहरूलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिइने प्रवक्ता गौडेलको भनाइ छ।

सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधवा भत्ता प्रदान गर्ने गरिएको छ।

‘हामीले ११ वटै वडाबाट विवरण सङ्कलन गरिसकेका छौँ। कतै छुटफुट भएकाहरू बाहेक अहिलेसम्म ८४ जना त्यस्ता पुरुष रहेको पाइएको छ’‚ उनले भने, ‘समग्रमा ७० वर्ष उमेर पुग्ने वेलासम्म भनिए पनि दलित पुरुषले ५९ र अन्य जातका पुरुषले ६९ वर्षसम्म यो भत्ता पाउनेछन्।’

सामाजिक सुरक्षा भत्ताअन्तर्गत ६० वर्ष उमेर पूरा भएका दलित पुरुष र ७० वर्ष पूरा भएका दलित बाहेकका अन्य जातिका पुरुषले नेपाल सरकारले नै उपलब्ध गराउने भत्ता पाउँदै आएका छन्।

यही कारण माथिबाट आउने भत्ता नपाउने अवस्थासम्मका लागि ५० वर्ष उमेर पूरा गरेका पुरुषलाई ‘विधुर भत्ता’ दिन थालिएको हो।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले श्रीमतीको मृत्यु भएपछि समस्यामा रहेका र एकल अवस्थामा रहँदा औषधि किन्न समेत नसक्ने पुरुषहरू समेत देखिएकाले पुरुषका लागि पनि भत्ताको सुरुवात गरिएको बताए।

चालू आर्थिक वर्षमा नै यो कार्यक्रम गर्नका लागि योजना पारित भएपछि शुक्रबारदेखि त्यस्ता पुरुषलाई भत्ता वितरणको काम थालिएको उनको भनाइ छ।

‘अहिलेसम्म खोजी गर्दा ८४ जना भेटिनुभएको छ। उहाँहरूले मासिक रूपमै भत्ता उपलब्ध गराउनेछौँ। त्यसका लागि प्रत्येक वडामा पुगेर अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेका छौँ’, नगरप्रमुख शर्मा भन्छन्, ‘एकल अवस्थामा रहेका महिलाले मात्रै होइन, पुरुषले पनि उस्तै समस्या भोगिरहेको हामीले देखेका छौँ। आखिर स्थानीय सरकारले स्थानीय नागरिकको मर्का नसुन्ने हो भने सुन्ने कसले?’

यो समाचार सामग्री थाहा खबर डट कमबाट साभार गरिएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive