बिहि, माघ १, २०८२
Thu, January 15, 2026

हिमपातले सुत्केरीलाई सकस, तीन घण्टा हिँडेर स्वास्थ्यकर्मीले गरे उद्धार

माघ २४, २०७८

पर्वत : हिमपातले सडक यातायातमा आएको समस्याका कारण बागलुङको दुर्गम क्षेत्रकी एक सुत्केरीलाई स्वास्थय समस्या भएपछि ३ घण्टा हिँडेर पुगेका स्वास्थ्यकर्मीले उद्धार गरेका छन्।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार बागलुङको बडीगाड गाउँपालिका–३ सिसाखानीस्थित सत्डाँडाकी २६ वर्षीया सीता सामलको उद्धार गरिएको हो।

घरमा नै आइतबार राति करिब एक बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि तत्कालै उपचारको आवश्यकता देखिएको थियो।

तर हिमपातका कारण सडकको समस्या र राति यातायात व्यवस्थापन हुन नसकेपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो।

सुत्केरीको अवस्था जटिल बन्दै गएको खबरपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मी राधा गिरी र दीपक थापाले तीन घण्टाको पैदल यात्रा गरेर सामलको घरमै पुगेर उनको ज्यान बचाएका हुन्।

‘हिमपात भएकाले बाटोको समस्या त्यसमा पनि रातिको समयका कारण दुर्गम ग्रामीण क्षेत्रमा यातायातको व्यवस्था गर्न सम्भव नभएको थाहा भयो,’ कार्य सञ्चालन केन्द्रका संयोजक शर्मा भन्छन्, ‘बिहान सवा ४ बजे ३ घण्टाको बाटो हिँडेर दुई जना साथीहरू पुगेपछि सक म्यानेजमेन्टको औषधि दिनुभयो। तर त्यो औषधिले पनि काम नगरेपछि फोनमार्फत भएपनि बिरामीको अवस्था सहज बनाउनुभयो।’

शर्माका अनुसार ती दुई स्वास्थ्यकर्मीले सुरुमा सक म्यानेजमेन्टको औषधि दिए पनि त्यसले काम गरेको थिएन।

बिरामीको अवस्था बिग्रन नदिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा.अनिल केसीलाई फोन गरेर उनैको सल्लाहअनुसार औषधि दिएपछि सीताको स्वास्थ्यस्थितिमा सुधार आएको थियो।

हिमपातका कारण विद्युत् सेवा र मोबाइल नेटवर्कमा समेत समस्या भोगिरहेको बेलामा स्वास्थ्यकर्मीको सक्रियतामा उनको अवस्था थप जटिल हुनबाट जोगिएको हो।
बडीगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सीतालाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगेका छन्।

thahakhabar.com

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive