माघ २८, २०७८
पर्वत : कोरोना सङ्क्रमण दर घट्दै गएको गण्डकी प्रदेशमा सङ्क्रमण भएकै अवस्थामा मृत्यु हुने र निको हुने दर भने बढ्दै गएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्ला छ दिन यता सङ्क्रमणको पुष्टि हुने क्रम घट्दै गएको भए पनि पछिल्ला तीन दिन यता सङ्क्रमितको मृत्यु दर भने बढेको छ।
निर्देशनालयमा रहेको अद्यावधिक विवरण अनुसार गत माघ २१ गते सम्म दैनिक दुई सय भन्दा माथिमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेकोमा माघ २२ यता भने दुई सय भन्दा कम सङ्ख्यामा घट्दै गएको छ। माघ २२ मा एक सय २३ जनामा, माघ २३ मा ४६ जनामा, माघ २४ मा एक सय ३७ जनामा, माघ २५ मा एक सय ४८ जनामा, माघ २६ मा एक सय ५६ जनामा र माघ २७ मा एक सय ३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ। यो सातामा बढी सङ्क्रमण रहेको माघ २१ को तुलनामा माघ २७ मा सङ्क्रमणको दरमा करिब ५८ प्रतिशतले कमी आएको हो।
सङ्क्रमणको क्रम कम हुँदै गएपछि परीक्षणको दायरा पनि साँघुरो बन्दै गएको छ। गत माघ १७ मा प्रदेशका ११ जिल्लामा कुल १३ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा माघ २७ मा चार सय सात नमुनाको परीक्षण गरिएको छ। परीक्षणको दायरा पनि करिब ५८ प्रतिशतले नै घटेको छ।
सङ्क्रमणको दर घट्दै गएको बेलामा कोरोनालाई जित्नेहरूको सङ्ख्या पनि सन्तोषजनक रहेको छ। धेरै सङ्क्रमित रहेको माघ २१ मा नै एकै दिन नौ सय ३५ जनाले सङ्क्रमणलाई जितेका थिए। त्यस यता माघ २२ मा सात सय ९० जनालाई, माघ २३ मा सात सय १७ जनालाई, माघ २४ मा पाँच सय १६ जनालाई, माघ २५ मा पाँच सय १६ जनालाई, माघ २६ मा दुई सय ६३ जनालाई र माघ २७ मा चार सय २५ जनालाई निको भएको छ। सङ्क्रमितहरू थपिने क्रम घट्दै गएका कारण निको हुने दर पनि घट्दै गएको देखिएको भए पनि सङ्क्रमण भन्दा निको हुने दर बढी रहेको छ।
तर पछिल्ला तीन दिनको तथ्याङ्क हेर्दा मृत्यु दरमा २५ प्रतिशत सम्मले वृद्धि भएको छ। माघको सात, १३ र २२ गते २÷२ जनाको मृत्यु भएको थियो बाँकी धेरै केही दिनमा दैनिक १÷१ जनाको मृत्यु भएको थियो। बाँकी रहेका केही दिनमा मृत्युको सङ्ख्या शून्य रहेको थियो। तर माघ २४, २५ र २६ मा लगातार दैनिक ४÷४ जनाको मृत्यु भएको छ।
कोरोना गण्डकी : सङ्क्रमण दर ओरालो लाग्दा मृत्युदर उकालो
