म्याग्दी ।धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो ।
यसैक्रममा आज (बिहीवार) म्याग्दी जिल्लामा क्रियाशील पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको सूचना, प्रविधि विषयको बारेमा अन्तत्र्रिmया र छलफल गरिएको छ । साविक धौलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो ।
प्राविधिक शिक्षाका लागि ठूला सहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बिआईसिटीई)को विषयमा अध्ययनको अवसर जुराएको हो । जिल्लाको विभिन्न विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरु पढाउने शिक्षकहरुको अभाव भैरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईवटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ । बिआईसिटीई र बिएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।
म्याग्दीन्यूज डट कम बाट साभार गरिएको सामग्री