नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापाको स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिकमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले निमित्त सदस्य सचिवको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
निमित्त सदस्य सचिव थापाले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताउनुभयो । कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । त्यसपछि कमिटी र परिषदबीच चिल्ड्रेन गेम ओफ एसिया इन्टरनेशनल र १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।
छलफलमा कार्यक्रममा अध्यक्ष माननीय श्रेष्ठ र परिषदका तर्फबाट निमित्त सदस्य सचिव थापाले सहभागिता जनाउनु भयो ।
छलफलमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, सचिब रामजी बहादुर श्रेष्ठ र सदस्य रमेश सिवाकोटी पनि सहभागी हुनु भएका थिए । त्यस अवसरमा प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्नेबारे छलफल भएको थियो ।
यस्तै नेपाल सहभागी हुनु पर्ने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर विस्तृतमा छलफल भएको थियो । त्यस अवसरमा नेपाल सहभागी हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताबारे पनि छलफल भएको थियो ।