फागुन १४, २०७८
पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कुश्मा नगरपालिका तथा सामाजिक विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु सहित कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले यूवा पुस्तामा संस्कार, सीप, रितिरिवाज, नैतिकताको विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन। उनले विज्ञान प्रविधिका कारण यूवा पुस्ताहरुले प्राचिन संस्कार, संस्कृति, आनीवानीहरु भुल्दै गएकोमा चिन्ता लागेको भन्दै अभिभावकहरुले आफ्ना नानीबाबुलाई यस्ता कुराहरु सिकाईरहनुपर्ने धारणा राखिन। अन्तर पुस्ता सीप हस्तान्तरणलाई सरोकारवालाले चासो राख्नुपर्ने आवश्यकता रहेको उमप्रमुख लामिछानेको भनाई छ।
कार्यक्रमको सहजकर्ताका रुपमा रहेका शिक्षाबिद पृथ्वीनारायण शर्माले पुरानो पुस्ताका मननयोग्य कुराहरुलाई नयाँ पुस्ताले व्यवहारमा उतार्न सकेमा मात्र, सीप, दक्षता, नैतिकता, मौलिकता र संस्कृतिको स्थानान्तरण हुने बताए। आधुनिक विकासका कारण अहिलेको पुस्ताले मौलिक मर्यादा, मौलिक कला र संस्कृति लगायतका कुराहरुलाई छाड्दै जाँदा हाम्रो संस्कृतिहरु नै लोप हुने खतरामा रहेको उल्लेख गर्दै त्यसको संरक्षणको जिम्मा अहिलेको पुस्तामा रहेको बताए।
यस्तै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले मौलिक संस्कृतिलाई मानव मूल्य र मान्यता स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएका कारण अहिलेको पुस्तामा त्यस बारेको चिन्तन आउनुपर्ने उल्लेख गरे। मौलिकता नेपालीको पहिचान रहेकोले नयाँ पुस्ताले पुराना पुस्ताको अनुभव र ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गरे। त्यसैका लागि कुश्मा नगरपालिकाले पनि पुस्ता अनुभव हस्तान्तरण कार्यक्रमको आयोजना गरेको अधिकृत गुरुङको भनाई थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक संघका अध्यक्ष लोकनाथ आचार्य, कुश्मा नगरपालिका–६ का वडा अध्यक्ष रुद्र गिरीले पनि अनुभव बाँडेका थिए।
कुश्मा नगरपालिका अन्तर्गत सामाजिक विकास शाखा प्रमुख डिल कुमारी शर्माको स्वागतमा सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीले गरेका थिए। शिवालय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024