चैत २, २०७८
पर्वत : पर्वतको पैयूँ गाउँपालिकाले व्यक्तिगत घटना दर्ता प्रक्रिया अनलाईनमार्फत गर्ने भएको छ ।
कागजी रुपमा मात्रै तथ्याङ्क राख्दा अस्पष्टता रहने तथा प्रक्रिया समेत ढिलो हुने गरेकाले सूचना प्रविधिको माध्यमबाट घटना दर्ता गर्न थालिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गाउँपालिकाका सात ओटै वडामा मङ्गलवारदेखि अनलाइनका माध्यमबाट घटना दर्ता कार्यको शुभारम्भ गरिएको ।
गाउँपालिकाको वडा नं. ७ भोर्ले को वडा कार्यालयमा आयोजना गरिएको औपचारिक कार्यक्रमबाट अनलाईनका माध्यमबाट घटना दर्ता गर्ने प्रक्रियाको सुरुवात गरिएको हो । यो प्रक्रियाको सुरुवात गर्दै गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले प्रविधिको क्षेत्रले मारेको फड्कोले हरेक कामलाई सहज बनाएको बताउँदै अनलाईनका माध्यमबाट राखिएका तथ्याङ्कहरुमा त्रुटी कम हुने बताइन् । आवश्यक परेको बेला जुनकुनै ठाउँबाट समेत ती सूचनाहरु हेर्न मिल्ने भएकोले नागरिकको लागि पनि सुबिधा र सहज शैलीबाट काम हुने उनको विश्वास छ । कार्यक्रममा भोर्लेका कार्यवहाक वडाध्यक्ष हर्कबहादुर हमालको पनि सहभागिता रहेको थियो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले कागजी रुपमा मात्रै राखिएका तथ्याङ्कहरु लामो समयपछि अस्पष्ट हुँदै जानुका साथै विभिन्न कारणबाट नष्ट हुने जोखिममा रहने बताए । तर अनलाइनमा राखिएका डेटाहरु पूर्ण रुपमा सुरक्षित रहने भएका कारण पैयूँ गाउँपालिकाले पनि अनलाईनमार्फत नै घटना दर्ताको काम सुरु गरेको उनको भनाई छ ।
उक्त कार्यक्रम सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण सेवा इकाई पैयूँ गाउँपालिकाद्धारा सञ्चालन गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत शरोज पराजुली, एमआईएस अपरेटर मुकुन्द गौतम लगातले बोलेका थिए ।
एमआईएस अपरेटर मुकुन्द गौतमका अनुसार गत फागुन २०, २१ र २२ गते तीन दिनसम्म वडाध्यक्ष र स्थानीय पञ्जिकाधिकारीहरुलाई प्राविधिक तालिम प्रदान गरिएको थियो । तालिममा अनलाईनमा घटना दर्ता गर्ने प्रक्रियाको बारेमा प्रशिक्षण दिएर उनीहरुलाई दक्ष बनाएपछि गाउँपालिकाका सबै वडामा एकै साथ अनलाईनको काम सुरु भएको हो । अनलाईनबाट घट्ना दर्ता गर्दा सर्भरबाटै टोकन नम्बर समेत आउने भएका कारण प्रत्येक वडाका लागि एक÷एक थान मोबाईल सेट पनि सहजीकरणका लागि उपलब्ध गराइएको गौतमले बताए ।
मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025