आइतवार, माघ २७, २०८१
Sunday, February 9, 2025

पर्वत अस्पतालको ओपिडि र एडमिसन वार्ड नयाँ भवनमा सर्ने तयारीमा

चैत १७, २०७८
पर्वत : ५० शय्या क्षमताको अस्पतालको रुपमा रुपान्तरण हुन लागेको पर्वत अस्पतालका केही सेवाहरुलाई तत्कालै नयाँ भवनमा सार्ने तयारी थालिएको छ।
अस्पतालमा बन्ने ए, बी, सी, डी र ई ब्लकका भवनमध्ये ए, बी र सी को निर्माणकार्य पूरा भएको तथा यही बेलामा बिरामीहरुको चाप बढेका कारण बिरामीको अवस्थालाई हेरेर तत्काल नै नयाँ भवनमा सेवा सार्ने गरी तयारी भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताए।
‘पर्वत् अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको अवस्था छ। अस्पतालले प्रदान गर्ने सेवामा नागरिकको विश्वास बढेसँगै हामीलाई शय्याको अभाव भएपछि काम पूरा भएका भवनमा केही सेवालाई सार्ने तयारी गरेका छौँ,’ अध्यक्ष गिरीले भने, ‘अहिले सुरुमा मुख्य भवनमा ओपीडी सेवा सार्ने तथा भर्ना भएर बस्नुपर्ने बिरामीहरुलाई पनि नयाँ भवनमा नै राखेर भर्ना गर्ने तयारी गरिएको छ।’


अहिलेको ओपीडी सेवा प्रदान भइरहेको भवनसँगै जोडिएको वार्डमा बिरामी भरिएपछि कोभिड–१९ को लागि आइसोलेसनका रुपमा प्रयोग गरीएको पुरानो भण्डारण कक्षमा समेत शय्याहरु राखेर बिरामी भर्ना गरिएको छ। अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने कामलाई प्रभावकारी रुपमा सञ्चालन गरेका कारण यसअघि पोखरा जाने क्रम रोकिएर पर्वत अस्पतालमा नै आउनेहरुको सङ्ख्या बढ्दै गइरहेको छ। अहिलेको ओपीडीसँग जोडिएको भवनमा सुत्केरी गरिएका तथा अन्य शल्यक्रिया गरिएका बिरामीहरु पूर्ण क्षमतामा राख्दा पनि शय्याको अभावका कारण नयाँ भवनलाई तत्काल नै प्रयोगमा ल्याउन थालिएको अध्यक्ष गिरीले बताए। उनका अनुसार आइसोलेसनका रुपमा प्रयोग गरीएको भवनमा १२ शय्या राखेर सञ्चालन गर्दा समेत शय्या अभाव भएपछि नयाँ बनेको भवनमा शय्या र अन्य सुबिधा जडानको काम चलिरहेको छ।
अस्पतालले भवन प्रयोग गर्नुपर्ने भएपछि निर्माण पूरा भएका ए, बी र सी ब्लक भवनको हस्तान्तरणको प्रक्रिया पनि अघि पढाइएको अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायले बताए। भवन निर्माणको काम गरेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले हस्तान्तरण प्रक्रियाका लागि पत्र समेत पठाएका कारण भवन हस्तान्तरण र नयाँ भवनबाट सेवा सञ्चालन गर्ने काम सँगसँगै हुने उनको भनाई छ।


नयाँ बनेको भवनबाट ओपीडी र भर्ना भएका बिरामीहरुलाई राख्ने काम हुने भए पनि अपरेसन थिएटर भने तत्कालै नयाँ भवनमा सर्ने छैन्। नयाँ भवनमा अपरेसन थिएटरका लागि तयारी हुँदै गरेको भए पनि त्यो पूरा नहुँदासम्म पुरानै अपरेसन थिएटरबाट सेवा सञ्चालन हुने छन्। अहिलेको अपरेसन थिएटरको दूरी पोस्ट अपरेटिभ वार्ड र प्रयोगशालासँग टाढा हुँदा शल्यक्रिया गरिएका बिरामीहरुलाई धरै डुलाउँदा समस्या हुने भएका कारण शल्यक्रिया कक्ष र शल्यक्रिया गरीएका बिरामीहरुलाई भने तत्कालै नयाँ भवनमा सारिने छैन्।
‘निर्माणको काम पूरा भएका भवन हस्तान्तरणको लागि बागलुङबाट पत्र पनि आइसकेको छ। हामीले नयाँ भवनमा शय्या र वार्ड मिलाउने काम गरिरहेका छौँ। यो काम सकिँदा साथ हस्तान्तरण पत्रमा हस्ताक्षर भइहाल्छ,’ उनले भने, ‘नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीहरुको चाप झनै बढ्ने छ। लिफ्टको सुबिधा सहित अपाङ्गता तथा बिरामीमैत्री भवन बनेका कारण हरेक प्रकारका बिरामीको लागि उपयुक्त हुने तथा लायन्स र अन्य संघसंस्थाबाट सहयोग स्वरुप आएका शय्याहरु पनि फोल्डीङ रहेका कारण पनि सेवा झनै राम्रो बन्ने छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive