जेष्ठ १०, २०७९
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालन भइरहेको पर्वत कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवको पाचौँ दिन मंगलवार नेपालकका चर्चित कलाकारहरुले सांगितिक प्रस्तुतीहरु दिने भएका छन् ।
लोक तथा दोहोरी मन पराउने जिल्लाका रुपमा चिनिने पर्वतमा दर्शकहरुकै मागको आधारमा विष्णु खत्री, सम्झना भण्डारी, रिना केसी, इश्वर सिंह लगायतका कलाकारहरुले प्रस्तुती दिने भएका महोत्सवका संयोजक शिव उचै ठकुरीले बताए । बिष्णु खत्री नेपाली लाखौँ दर्शकको रोजाईका कलाकार हुन् । भण्डारीले पनि थुप्रै गीतहरुमा आवाज भरेकी छिन् । दोहोरीमा सिपालु के.सी गीत ‘हो र हो’ अहिले टिकटकमा भाईरल भइरहेको छ । सिंह पनि दर्शकको रोजाईमा पर्ने कलाकार हुन ।
यसअघि महोत्सवको चौथो दिन सोमबार चन्द्र शर्मा र टीका सानु लगायतका कलाकारहरुले स्टेज तताएका थिए ।
कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने काम भइरहेको छ ।
महोत्सव अवलोकनको लागि बिद्यार्थी, बालबालिका र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ मूल्य तोकिएको छ भने साधारण टिकटको मूल्य ७० रुपैयाँ राखिएको छ । महोत्सवबाट आम्दानी भएको रकमबाट कार्यक्रम आयोजना गरिएको बडागाउँ खेल मैदानमा शौचालय निर्माण गर्ने, मैदान व्यवस्थापनमा सघाउने र नेपाल पत्रकार महासंघ पर्वत शाखालाई आवश्यक पर्ने केही डिजिटल सामग्रीरु हस्तान्तरण गर्ने योजना राखिएको छ ।
मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025