जेठ १८, २०७९
पर्वत : पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालयहरुको अनुगमनमा तीब्रता दिएको छ।
गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायतको संयुक्त टोलीले गाउँपालिकाभित्रका बिभिन्न स्थानका विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिइरहेको छ। सोही कार्यक्रम अन्तर्गत मङ्गलवार फर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा अनुगमन गरिएको छ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्री, वडा नं. ८ का वडाअध्यक्ष हरिबिकास जि.सी. लगायतको टोलीले विद्यालयको अवलोकन गरेको हो।
सोही अवसरमा विद्यालयको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान पनि गरिएको थियो। विद्यालयको अनुगमन पश्चात गाउँपालिकाका अध्यक्ष आचार्यले शैक्षिक गुणस्तर कायम नभएसम्म बेरोजगारी समस्याको समाधान नहुने भएकाले हरेक विद्यालयले गुणस्तर कायम गर्न सक्षम हुनुपर्ने बताए। विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नका लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले गाउँपालिकाले विगतदेखि नै विद्यालयलाई प्राथमिकतामा राखेर विद्यालयलाई पूर्वाधारबाट भरिपूर्ण बनाउने प्रयास गर्दै आइरहेको बताए।
उनीहरुलाई विद्यालयमा स्वागत गर्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले सामुदायिक विद्यालयको सुधारको लागि जलजला गाउँपालिकाले गर्दै आएका कामहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए। उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए।
शैक्षिक सुधारका लागि अनुगमनमा जलजला
