असार ३१, २०७९
पर्वत : तनहुँमा रहेको नेपाली सेनाको कालीभञ्जन गण (ईञ्जिनियरिङ) मा ३४० जना दर्शक रहन सक्ने क्षमताको प्याराफिट निर्माण गरिएको छ।
नेपाली सेनाको ‘जनतासंगै नेपाली सेना’ भन्ने नारालाई व्यवहारिक बनाउन कालीभञ्जन गणले नागरिक सैनिक सम्बन्धलाई प्रभावकारी बनाउन विभिन्न नागरिकमैत्री कामहरु गर्दै आएको छ। नगरिक सैनिक सम्बन्ध मजबुत बनाउन नेपाली सेनाले सैनिक हाता बाहिर गई विभिन्न गतिविधिहरु संचालन गर्दै आएको थियो। प्याराफिट निर्माणको लागि व्यास नगरपालिकाले दश लाख रुपैयाँ आर्थिक सहयोग सहयोग गरेपछि कालीभञ्जन गणका सकल दर्जाको योगदानमा प्याराफिट निर्माण गरिएको हो।
प्याराफिटको उद्घाटन कार्यक्रममा स्थानीय व्यास युवा क्लव र कालीभञ्जन गणको बिचमा मैत्रीपूर्ण फूटबल खेल समेत आयोजना गरिएको थियो। दिउसो र रातीमा पनि सञ्चालन गरेर प्रतिस्पधात्मक रुपमा सम्पन्न भएको खेलमा कालीभञ्जनले व्यास युवा क्लबलाई पराजित गरेको थियो।
बिजेता बनेको कालीभञ्जन गणका खेलाडीहरुलाई ट्रफी प्रदान गर्दै मध्य कमाण्ड हेर्ड क्वार्टरका प्रमुख उपरथी बाबुराम श्रेष्ठले मैत्रीपूर्ण खेलहरुले खेलको सीप विकासमा मात्र नभई भावनात्मक एकताको पक्षलाई पनि बलियो बनाउने बताए। नेपाली सेनाले नागरिकसँग जोडिएर विभिन्न कामहरु गर्दै आइरहेको र सोही अन्तर्गत कालीभञ्जन गणको नेतृत्वमा प्याराफिट निर्माणको काम पूरा भएको बताए। मैत्रीपूर्ण खेलहरु भविष्यमा समेत निरन्तर संचालन भएमा खेलाडीहरुको क्षमतामा विकास हुनुका साथै नेपाली सेना र नागरिक विचको सम्बन्धमा थप हार्दिकता ल्याउने भन्दै उपरथी श्रेष्ठले जनसमुदायमा नेपाली सेनाप्रतिको सद्भावना तथा धारणामा सकारात्मक वृद्धि हुने विश्वास व्यक्त गरे। । ‘जनतासंगै नेपाली सेना’ भन्ने उक्तिमा आधारित भएर नागरिकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका बिभिन्न क्रियाकलापहरुमा सेनाले सहकार्य गरिरहेको उनको भनाई छ।
नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टर अन्तरगत कालीभञ्जन गण (ई) ले मध्य कमाण्ड लागि कम्ब्याट ईन्जिनियर सपोर्ट तथा तनहुं जिल्लालाई जिम्मेवारी ईलाका बनाई २०७६ साल देखि कार्य सम्पादन गर्दै आइरहेको छ। गण बसेदेखि नै पेशागत भुमिकाको साथै विपद् व्यावस्थापन, जनहितका कार्यहरुमा सक्रिय रुपमा क्रियाशिल भई आएको नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखराले बताएको छ। गत फागुनमा दमौलीमा भएको आगलागीको विपद्, गत जेठमा पृथ्वी राजमार्गको मुग्लिन सडक खण्ड भासिएर भएको राजमार्ग अवरोधको विपद्, कोभिड–१९ को महामारीमा फ्रन्ट लाइनमा बसेर काम गर्ने, स्थानिय सरकार, स्थानिय निकाय र स्थानिय जनताको सहजता र सुरक्षाको लागि हातेमालो गर्ने लगायतका कामहरु नेपाली सेनाले तनहुँमा गरेको छ।
तस्बीर : नेपाली सेना, मध्य कमाण्ड हेडक्वार्टर