पर्वत : जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले शैक्षिक गुणस्तर कायम गर्नको लागि आवश्यकता अनुसार विद्यालयहरुलाई समायोजन गरिने बताएका छन्।
बिहादी गाउँपालिकाभित्र सञ्चालनमा रहेको ३० ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बिहीबार भएको नियमित मासिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। गुणस्तरी शिक्षा र प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा मानिसहरुको बसासराईँको दर बढीरहेकोप्रति चिन्ता ब्यक्त गर्दै उनले गाउँमा रहेका हरेक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न सकेमा बसाईसराईँ समेत रोकिने बताएका हुन्।
‘मानिसहरु गुणस्तरीय शिक्षा र राम्रो उपचारको खोजीमा बजार र अन्य ठाउँमा बसाईँ सर्ने क्रम चलिरहेको छ। हामीले हाम्रा गाउँमा रहेका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा प्रवाह गर्न सकियो भने बसाईँसराई पनि रोकिने हाम्रो विश्वास छ,’ उनले भनेका छन्, ‘शिक्षा र स्वास्थ्य मानिसका आधारभूत कुराहरु पनि भएका कारण यसमा हामीले केही न केही गरेको हुनुपर्छ। शिक्षा र स्वास्थ्यमा हामी केन्द्रीत भएका कारण अब शिक्षक र विद्यार्थीको अनुपात पनि मिलाइनुपर्छ भन्नेमा हामी लागेका छौँ।’
गाउँपालिकाभित्र सञ्चालनमा रहेका कतिपय विद्यालयमा विद्यार्थी र शिक्षकहरुको अनुपात नमिलेका कारण कतिपय ठाउँका शिक्षकहरु खाली रहने र कहीँ शिक्षक नै अभाव हुने समस्या रहेकोले शिक्षा क्षेत्रमा लामो समय काम गरेकोहरुको विज्ञ टोली निर्माण गरेर विद्यालय समाजनको बारेमा कदम चालिने गुरुङको भनाई छ।
बैठकमा सहभागी प्राधानाध्यापकहरुले विद्यालयले भोगिरहेका समस्याहरुको बारेमा पनि अध्यक्ष गुरुङलाई जानकारी गराएका थिए। प्रधानाध्यापकहरुको मागको बारेमा भनाई राख्दै उनले आफूहरु गुणस्तरी शिक्षाको लागि प्रतिबद्ध रहेका कारण एकै पटकमा नसेक पनि क्रमिक रुपमा विद्यालयका समस्याहरुको समाधानको लागि तयार रहेको बताए।
गाउँपालिकामा प्राबिधिक धारको शिक्षा सुरु गर्न सकेमा गाउँमा नै प्राबिधिकहरु उत्पादन गर्न सकिने तथा प्राबिधिक शिक्षाको खोजीमा बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने सोच अध्यक्ष गुरुङले लिएका छन्। त्यस्तै दक्ष चिकित्सक सहितको विशेष स्वास्थ्य संस्था स्थापना गर्न सकेमा स्वास्थ्यमा समस्या आउँदा लामो दूरी तय गरेर बजारका स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था पनि नरहेकोले यी दुवै कामका लागि केन्द्रीकरण गरिएको अध्यक्ष गुरुङले बताए।
बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारी पनि सहभागी भएकी थिईन्। लामो समय स्वास्थ्य क्षेत्रमा काम समेत गरेर जनप्रतिनिधिका रुपमा आएकी शर्माले नागरिकले परिवर्तको महसुस गर्ने तहका रुपमा शिक्षा र स्वास्थ्यलाई लिन सकिने बताईन। शिक्षा नै दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्र भएकाले शिक्षा क्षेत्रमा राज्यले पनि विशेष जोड दिनुपर्ने उनको भनाई छ।