पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगर कार्यसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२०२० साल भदौ १९ गते नेपालमा पहिलो पटक रेडक्रस स्थापना भएको दिनको अवसर पारेर ६० औँ नेपाल रेडक्रस दिवसमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरु, शिक्षकका अन्य पेसागत सङ्गठनमा आवद्ध शिक्षक, आम नागरिक र स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका शिक्षक संघ कुश्मा नगर कार्यसमितिका अध्यक्ष मिम शर्मा लामिछानेले बताए ।
समाजमा अझै पनि रक्तदान गर्दा दाताको शरीरलाई हानी हुने सोच रहँदा रक्तदान गर्न हिचकिचाउनेहरु पनि रहेकाले नकरात्मक सोचमा परिवर्तन ल्याउनको लागि पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
नेपाल शिक्षक संघ कुश्मा नगर समितिको आयोजनामा विद्यार्थी र अभिभावक बाहेक सामाजिक सेवामा पनि हुनुपर्ने धारणा अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । गत फागुन १४ गते शिक्षक संघ कुश्मा नगर समितिको अधिवेसन भएपछि बसेको तेस्रो बैठकले आजका लागि रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले शिक्षकहरुको उद्धेश्य विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउनु, सामाजिक क्रियाकलापमा लाग्न उत्प्रेरित गर्नु रहेकोमा आफूहरुले नै रक्तदान गरेर नमूना प्रस्तुत गरेको भन्दै खुसी व्यक्त गरे । रक्त दान गर्नु जीवन दान हो भन्ने कुरा शिक्षकहरुमार्फत् बुझाउन सकिएमा समाजमा कोही पनि रगतको अभावमा मर्नुपर्ने अवस्था नआउने उनको भनाई छ । शिक्षक संघ कुश्मा नगरपालिकाले गरेको कार्य प्रशंसनीय रहेको भन्दै सभापति रिमालले देशैभरीका शिक्षकहरु यस्तै अभियानमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा कुश्मा नगरपालिका–७ का वडाध्यक्ष परशुराम पुरी, ९ का वडाध्यक्ष राम शर्मा लामिछाने लगायत अन्य समाजसेवीहरुको पनि सहभागिता रहेको थिए । उनीहरुले पनि शिक्षक संघले आयोजना गरेको रक्तदान कार्यक्रमले धेरैको जीवनको बचाउन सहयोग गर्ने भन्दै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरुको आयोजनाका लागि अनुरोध गरेका थिए ।
शिक्षक संघ कुश्मा नगर कार्यसमितिका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र श्रेष्ठले गरेका थिए ।