बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

डा. पुनलाई एनआरएनएले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्ने

अशोज ९, २०७९

पर्वत : नन रेसिडेण्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ प्रदान गर्ने भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुनलाई ११ सय अमेरिकी डलरको यो पुरस्कार प्रदान गर्ने गरी संस्थाले निर्णय गरेको नन रेसिडेण्ट नेपाली एसोसिएसनका अध्यक्ष माधव मरासिनीले बताए । अहिले अमेरिकी एक डलरको मूल्य झण्डै एक सय ३० रुपैयाँ रहेको छ । यो दर अनुसार डा. पुनले एक लाख ४३ रुपैयाँको पुरस्कार प्राप्त गर्न लागेका हुन् ।
यो पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरिएको बताउँदै अध्यक्ष मरासिनीले स्वास्थ्यका माध्यमबाट नेपाली सेनालाई द्वन्दग्रस्त देशमा राख्नेदेखि कोभिड–१९ को सङ्क्रमण भएको बेलासम्म स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै डा. पुनलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिए ।
‘पुरस्कृत हुन लाग्नुभएका व्यक्तित्व डा. शेर बहादुर पुनले शान्ति स्थापनार्थ क्यारेबियन मुलुक हाइटी पुगेको नेपाली सेनालाई देश छाड्न माग गर्दै स्थानीयवासीले २०६७ मा मिराबलै क्षेत्र स्थित संयुक्त राष्ट्र सङ्घीय आधार क्षेत्रमा प्रदर्शन गरे। नेपाली सेनाको कारणले फैलिएको हैजाले १० हजार ७५ जनाको ज्यान गएको भन्दै त्यहाँका स्थानीयवासीले क्याम्पसम्मै आएर विरोध गरेका थिए,’ उनले भने, ‘नेपाल सरकारलगायत सेनाको पक्षमा कोही पनि नबोलिरहेका बेला पुनको व्यक्तिगत प्रयासले नेपाली सेनाले हैजा फैलाएको विषयलाई प्रतिवाद गरिएको तथा फैलिनुको कारणको बारेमा लेखिएको पत्र अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) मा पुगेको थियो ।’
संयुक्त राष्ट्र सङ्घका तत्कालीन महासचिव वान कि मुनले राष्ट्र सङ्घको विशेष महासभामा पेस गरेको १६ पृष्ठको प्रतिवेदनमा हाइटीको हैजाको जिम्मेवारी लिन बाध्य हुँदा नेपाली सेनामाथि लागेको आरोप निराधार भएको पुष्टि भएको मरासिनीको भनाई छ । डा. पुनको तर्कले नेपाली सेनामाथि लागेको आरोपको खण्डन मात्रै नगरी विश्वका चर्चित अनुसन्धानकर्तालाई चुनौती दिन सक्ने क्षमता नेपालीमा पनि छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा पुगेको भन्दै एनआरएनएले डा.पुनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै कोभिड–१९ र अहिले फैलिइरहेको डेंगुबाट बच्न डा. पुनले फैलाएको जनचेतनाको हरेक नेपालीले उच्च प्रशंसा गरेकोले उनलाई नै अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार दिने निर्णय गरेको अध्यक्ष मरासिनी बताउँछन् । आउँदो पुस महिनामा विशेष कार्यक्रमको आयोजना गरेर यो पुरस्कार वितरण गर्ने उनको भनाई छ ।
एनआरएनले गत भदौ सातमा अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार–२०२२ बाट चितवनको माडीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहका प्रधानाध्यापक वीरेन्द्र महतोलाई सम्मान गरेको थियो । महतोले बाढीले पुरेको विद्यालयलाई जग्गादाता तथा भवन निर्माणदाता खोजी गरेर दुःखका साथ विद्यालय पुनर्निर्माण गरेर विद्यालयलाई नै नमुना बनाएको सम्मानमा ११ सय अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो ।
एनआरएनएले आउँदो २०८० सालको वैशाखमा अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार प्रदान गर्ने पनि घोषणा गरेको छ । १५ सय ५१ अमेरिकी डलर नगद राशि रहेको यो पुरस्कार नेपाल वा विदेशमा रहेर सञ्चार क्षेत्रमा क्रियाशील रहेका एक जना पत्रकारलाई प्रदान गरिने छ । पत्रकारिताको माध्यमबाट राजनीति नगरेको तर सामाजिक परिवर्तन, नागरिकका पिडा देखाइएका लगायतका पक्षमा पत्रकारिता गरिरहेको व्यक्ति यसका लागि योग्य मानिने व्यक्तिलाई पुरस्कार प्रदान गरिने अध्यक्ष मरासिनीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive