बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

मध्यपहाडी र ग्रामीण क्षेत्रका यात्री र सवारीलाई सघाउन कुश्मामा प्रहरीको ‘हेल्प डेस्क’

अशोज ७, २०७९

पर्वत : चाडपर्वको बेलामा यात्रुले खेप्नुपर्ने सास्तीलाई कम गर्नको लागि मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वतको कुश्मामा ‘यात्रु सहायतक कक्ष’ सञ्चालनमा ल्याइएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्ला हुँदै विभिन्न जिल्लामा आउजाउ गर्ने ग्रामीण सडकमा आउजाउ गर्ने सवारीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कुश्मा बजारको शिवालय चोकमा शुक्रवारदेखि ‘यात्रु सहायतक कक्ष’ सञ्चालनमा ल्याएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने शिवालय चोकमा ‘हेल्प डेस्क’ स्थापना गरिएको हो ।
यात्रुको चाप बढेको बेलामा भाडा असुली बढी हुन सक्ने, यात्रुहरू ठगिने तथा यात्रुहरूको झोला हराउने र साटिने, सवारीहरूमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्याहरू आउन सक्ने, जोखिमपूर्ण अवस्थामा रहेका सवारीहरूले पनि सेवा दिन सक्ने लगायतका समस्या समाधानको लागि ‘सहायता कक्ष’ ले प्रयास गर्ने छ । ‘सहायता कक्ष’ मा २४ सै घण्टा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले प्रहरी खटाएर यात्रुका गुनासाको सुनुवाइ गरिने छ । त्यहाँ रहने प्रहरीले मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा देशका विभिन्न ठाउँबाट ती जिल्लामा भित्रिने सवारीहरूको निगरानी र अनुगमन गर्ने छन् । यस्तै सदरमुकाम कुश्मादेखि जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरूमा आउजाउ गर्ने सवारीहरूको निगरानी पनि ‘यात्रु सहायता कक्ष’ मा रहेका प्रहरीले गर्ने छन् ।
‘जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गरेका सबैको समस्या समाधानको प्रयास यही डेस्कबाट हुने छ । यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्याहरू भएमा सिधै कक्षमा बताउन सक्नुहुनेछ,’ ट्राफिक प्रहरी प्रमुख निउरेले भने, ‘यात्राका क्रममा सामग्री हराउने, चोरिने, विभिन्न बहानामा बढी भाडा असुली, क्षमता भन्दा बढी राखिएका यात्रु, सवारीको अवस्था, सवारीका कागजात लगायतको बारेमा कडाइका साथ चेकजाँच पनि हुने छ ।’
बागलुङ, म्याग्दी र मुस्ताङ जानका लागि सबैभन्दा व्यस्त नाका पर्वत नै भएकाले पनि पर्वतको यात्रु सहायता कक्षले यातायात व्यवसायी र यात्रु सबैको समस्या समाधानका लागि महत्त्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । यात्रुको चाप सामान्य रहेको बेलामा त्यति धेरै समस्या नआउने भए पनि चाडबाडको बेलामा समस्या आउन सक्ने भएकाले कुश्मामा रहेको ‘यात्रु सहायता कक्ष’ छठ पर्वसम्म नै सञ्चालनमा रहने उनले बताए ।
सबैभन्दा बढी चाप मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकमा हुने भए पनि उक्त सडकका अन्य ठाउँमा पनि चेकजाँच हुने गरेको छ । पोखरा–बागलुङ सडक अन्तर्गत कास्कीको सिम्पानी, हेम्जा, नाउँडाँडा, नयाँपुल, पर्वतको डिमुवा, अम्बोट, कुश्मा र मालढुङ्गामा चेकजाँच हुने गरेको छ । उक्त सडकमा चल्ने सवारीहरूको निरीक्षण नियमित रूपमा हुने गरेको भए पनि जिल्लाका ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म आउजाउ गर्ने सवारीहरूको चेकजाँच कम हुने गरेकाले पर्वत प्रहरीले ग्रामीण क्षेत्रको चेकजाँचलाई पनि बाक्लो बनाउने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेको भनाई छ ।
जिल्लाभित्रका कालोपत्रे गरिएका तथा कच्ची सडकमा चल्ने जिप र बस सहित टेम्पुको भाडा दर नै निर्धारण गरिसकिएका कारण सोही भाडा दरलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पर्वत ट्राफिकले यातायात व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive