पर्वत : नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश समितिको बैठक ८ बुँदे ‘चित्रे घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ ।
आन्तरिक पर्यटकहरुको रोजाइको क्षेत्रको रुपमा विकास भइरहेको मोदी गाउँपालिकाको चित्रेमा आइतबार आयोजित बैठकबाट विभिन्न आठ बुँदामा घोषणापत्र सार्वजनिक गरिएको सङ्गठनका अध्यक्ष बालकृष्ण शर्माले बताए। ती आठ वटा बुँदाहरुमा नेपाल निजामति कर्मचारी सङ्गठन केन्द्रिय कार्यसमितिबाट पारित नमस्कार अभियानलाई आफैबाट सुरुवात गर्ने, अध्यादेशबाट नभई संसदीय अभ्यासबाट नै सेवा ऐन ल्याउन माग गर्ने, गण्डकी प्रदेश सरकारबाट हालै जारी गरिएको प्रदेश निजामति सेवा सञ्चालन तथा गठन सम्बन्धि अध्यादेश र स्थानीय सेवा सञ्चालन तथा गठन सम्बन्धि अध्यादेशमा भएका कर्मचारीमैत्री तथा नागरिकमैत्री नभएको अवस्थामा सोको अध्ययन गरी धारणा सार्वजनिक गर्ने र खबरदारी गर्ने भनिएको छ ।
यस्तै मङ्सिर ४ मा हुने निर्वाचानलाई स्वतन्त्र, निष्पक्ष र धाधलीरहित गराउन दबाबमूलक अभियान सञ्चालन गर्ने, निर्वाचनमा जनशक्ति व्यवस्थापनमा निष्पक्ष तथा स्वतन्त्र रुपमा व्यवस्थापन गर्न निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका बनाउन निर्वाचन आयोगलाई अनुरोध गर्ने, संघ प्रदेश तथा स्थानीय तहमा जथाभावी रुपमा निर्वाचनको घोषणा पश्चात पनि राजनीतिक आस्थाका आधारमा गरिएको सरुवाको बिरोध गर्ने, हरेक कार्यालयमा सुशासनको प्रत्याभूति दिलाउन सुशासन इकाई गठन गर्न नेपाल निजामति कर्मचारी सङ्गठन गण्डकी प्रदेश कार्यसमितिले जोडदार माग गर्दै नेतृत्व गर्ने र गाउँपालिका तथा नगरपालिकामा खटिने प्रमुख प्रशासकीय अधिकृतलाई राजनीतिक आस्थाका आधारमा हाजिर नगराउने तथा फिर्ता पठाउने कार्यप्रति घोर आपत्ति व्यक्त गर्दै आगामी दिनमा दोहोरिन नदीन सरकारको ध्यानाकर्षण गर्ने भनिएको छ ।
अशोक खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मोदी गाउँपालिकाकी अध्यक्ष एवं नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हिरादेवी शर्मा रहेकी थिईन । यस्तै नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेल, नेकपा एमालेका गण्डकी प्रदेश इञ्चार्ज घनश्याम सापकोटा सहित तेजप्रसाद निउरे, भरत भुसाल, रामजी पौडेल, उद्धीमराज पौडेल, शारदा कुमारी शर्मा, खड्कबहादुर ग्रुङ लगायत प्रदेशका ११ वटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
उपाध्यक्ष शारदा खड्काको स्वागतमा सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सङ्गठन पर्वतका अध्यक्ष बालकृष्ण शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश समितिको बैठक मोदी गाउँपालिका पर्वतको चित्रेमा सञ्चालन हुने भएको छ । आतिथ्यता गरेको निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति पर्वतले बैठक चित्रेमा सञ्चालन गर्ने निणर्य गरेको हो । संगठनका अध्यक्ष बालकृष्ण शर्माले दिएको जानकारी अनुसार पर्यटन प्रबद्र्धनको उद्देश्य सहित मोफसलमा पहिलो पटक बैठक सञ्चालन गर्न लागिएको हो । असोज ९ गते आइतबार सञ्चालन हुने बैठकमा गण्डकी प्रदेश भित्रका विभिन्न ११ जिल्लाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी सहित सदस्यहरु उपस्थित हुने भएका छन् । कोभिडको महामारीले थलिएको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदै गएको छ । अहिले चित्रेमा विभिन्न संघ, संगठनका भेला, बैठक तथा अन्य विविध गतिविधि लिएर चित्रेमा पुग्ने गरेका छन् । मोदी गाउँपालिकाले चित्रेको पर्यटन विकासलाई विशेष तबर बाट हेरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए ।