पर्वत : स्थानीय सरकारमा पक्ष र बिपक्षको परिकल्पना संविधानले समेत नगरेको उल्लेख गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पक्ष र बिपक्ष नभनि ग्रामिण क्षेत्रको विकासमा लाग्न आग्रह गर्नुभएको छ ।
फलेवास नगरपालिका–११ पाङराङस्थीत चीसापानी कालिका भगवती मन्दिरको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विकासको कुरा जति गर्यो त्यो अझ आवश्यकता हुने भएकोले त्यसमा स्थानीय सरकारमा निर्वाचित हरेक जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । उहाँले केन्द्र प्रदेश र स्थानीय सरकारको साझा पहलमा प्रतिवद्ध भएर लाग्ने हो भने विकास अब धेरै टाढा नभएको जिकिर गर्नुभयो ।
‘म अहिले केन्द्रको प्रतिनिधि भएर यहाँ उभिएको छु । अब मंशीर ४ मा हुने निर्वाचनले प्रदेशका प्रतिनिधि चुन्ने छ । स्थानीय प्रतिनिधि भर्खरै चुनिएर आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘ठुल्ठुला विकासका आयोजना म जस्ता केन्द्रका प्रतिनिधिलाई जिम्मा दिनुहोस् । मध्यमस्तरका आयोजना प्रदेश सरकारमा पठाउनुहोस् । ससाना आयोजनाहरु हेर्न नगरपालिका छंदैछ ।’
आफु जिल्ला विकासको सभापति हुँदा तत्कालिन हरेक गाविसहरुमा पैदलै यात्रा गरेको स्मरण गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले अहिले मुख्य बाटाहरु कालोपत्रे भइसकेको र हरेक बस्तीसम्म पुग्ने सडक समेत स्तरोन्नतीको क्रममा रहेकोले विकासले धेरै फड्को मारेको अनुभुति गरेको बताउनुभयो । उहँँले पाङराङको एउटा गाउँबाट मात्रै करोडबढीको सुन्तला निर्यात हुने खबरले आफु उत्साहित भएको बताउँदै उहाँले हरेक गाउँको भुगोल सुहाउँदो खेतीपाती र पशुपालन गर्ने हो भने ति गाउँ, जिल्ला र मुलुक समृद्धीको यात्रामा लाग्न धेरै समय नलाग्ने बताउनुभयो ।
निमिल्सिनाले स्थानीय सरकारमा पक्ष र बिपक्ष, बहुमत र अल्पमतका कुरा गर्ने हो भने मतदाताले त्यसको जवाफ दिने बताउनुभयो । ‘अब मंशीर ४ मा संघ र प्रदेशको निर्वाचन हुँदैछ,’ उहाँले भन्नुभयो, ‘म त भन्छु हरेक पालिकाले चुनावी सभा आयोजना गरुन् । अनि त्यहि सभामा ठुला पार्टीका नेताहरुले पालैपालो भाषण गरुन् । आफ्ना योजनाबारे बोलुन् । अनि जसका एजेण्डा उचित लाग्छन्, उसैलाई मतदाताले मत दिउन् ।’ उहाँले कोहि पनि मतदाताले पैसा, पावर, डरधाक र धम्कीको बेवास्ता गर्दै ढुक्कले मतदान गर्ने वातावरण हुनुपर्ने पनि बताउनुभयो ।
नगरप्रमुख गंगाधर तिवारीले आफु निर्वाचित भएपछि नगरको विकासका सवालमा धेरै सपना देखेको बताउनुभयो । आम फलेवासबासी जनताले आफुलाई एक प्रतिनिधि पात्रका रुपमा उभ्याएको उल्लेख गर्दै पाँच वर्षसम्म विधि र प्रकृयामा टेकेर जनताकै सेवा गर्न आफु नगरपालिकामा आएको उल्लेख गर्नुभयो । आफु विगतमा पदमा नरहँदा समेत जनताको दुखशुखमा साथ दिएको उल्लेख गर्दै जनताले पाँच वर्षको जिम्मेवारी दिएर पठाएपछि अझै गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । आफु कुनै लोभलालच र व्यक्तिगत स्वार्थ नभई नितान्त जनताको सेवा गर्न उपस्थित भएको बताउँदै वीधि र प्रकृयाभित्र रहेर विकास गर्न तयार भएको बताउनुभयो ।
आफुले चीसापानी कालिका मन्दिरलाई साक्षी राखेर कुनै पनि लोभलालचमा नपरि आम नगरबासीको सेवा गर्ने बाचा गर्नुभयो । उहाँले आफुले निर्वाचनका बेला प्रतिवद्धता गरेका पाङराङमा सिंचाई र खानेपानीका योजना शुरु गराइसकेको बताउँदै आगामी पाँचवर्षभित्रमा आफुले गरेका सम्पुर्ण बाचा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले पाङराङमा उत्पादित सुन्तलाको भण्डारणका लागि कोल्डस्टोर निर्माण गर्नसके धेरै राहत हुने बताउनुभयो । उहाँले अझै पनि नगरभित्र विद्युतिकरण, व्यवस्थीत शौचालयको सेवा नपुगेका केहि घरधुरीहरु भएको उल्लेख गर्दै आफुहरु त्यस्ता बस्तीमा पुगेर आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
हरेक घर पुग्न नसके पनि दुःखपीडामा साथ दिने र मल्हमपट्टी लगाउन तयार रहेको उल्लेख गर्नुभयो । संस्थापक नगरप्रमुख पदमपाणी शर्माले फलेवासको पाङराङ सबैभन्दा कम र सबैभन्दा धेरै उचाई भएको महत्वपुर्ण वडा भएको उल्लेख गर्दै यो वडामा धेरै सम्भावना भएको बताउनुभयो । उहाँले फलेवासका सबै स्थानमा पर्यटक, कृषि लगायतका पुर्वाधारले भरपुर फाइदा लिनसकिने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला नेता भक्त कुँवर, नेपाली कांग्रेसका स्थानीय युवानेता यमन कुँवर लगायतले बोल्नुभएको थियो । चण्डीश्रृकाङ युवा क्लवका अध्यक्ष दिनेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक अगुवा अर्जुन कुँवरले गर्नुभएको थियो । कार्यक्रममा मन्दिर निर्माण गर्न सहयोग गर्ने बिभिन्न सहयोगिहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमपश्चात नगरप्रमुख तिवारीले पाङराङमा निर्माणाधिन वडा कार्यालय भवन, स्तरबृद्धीका क्रममा रहेका सडकहरु, स्थानीय युवा क्लवका लागि आवश्यक खेलमैदान लगायतको अवलोकन गर्दै गुणस्तरिय निर्माण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । नगरप्रमुख तिवारीले कर्नासदेखि पाङराङसम्मको सडकमा ट्याक्सी गुड्नेगरि मर्मतसुधार गर्न वडाध्यक्ष रुद्र पाठकलाई आग्रह गर्नुभयो । त्यस्तै खेलमैदानको अभावमा नियमित खेलअभ्यासबाट बञ्चित भएका युवा खेलाडीहरुका लागि स्थानीय खेलमैदानको मर्मतसुधार गर्न आवश्यक मेसिन पठाउने र जतिसुकै खर्च लागे पनि मर्मत गरि नगरपालिकामा बिवरण पठाउन आग्रह गर्नुभयो ।
निर्माणाधिन वडा कार्यालयको गुणस्तरमा सम्झौता नगर्ने बताउँदै उहाँले गुणस्तरिय काम नभए भुक्तानी रोक्न बाध्य हुनुपर्ने भएकोले पुर्ण पारदर्शी र गुणस्तरिय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । साथै नगरप्रमुख तिवारीले मर्मतसुधारका क्रममा रहेका बिभिन्न ग्रामिण सडकहरुको समेत अवलोकन गर्नुभएको थियो । नगरप्रमुख तिवारीले सबै वडाका सडकहरु दसैंअगाडी नै मर्मतसुधार गरि सहज यातायात सञ्चालन गर्न नगरका दुईवटा डोजर परिचालन गर्दा समेत समयमै काम नसक्ने देखिएपछि भाडामा लिएर समेत काम भइरहेको सर्वसाधारणलाई जानकारी गराउनुभयो ।